देशका अधिकांश भूभागमा पानी पर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूको मौसम भने सफा रहेको छ । मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाको मौसम सफा रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यति बेला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, बाजुरा, हुम्ला, मुगु, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख र अछाममा घाम लागिरहेको छ ।
त्यसैगरी डोल्पा, रुकुम पश्चिम, सल्यान र बाँकेमा सामान्य बादल लागिरहेको छ । दाङ, रोल्पा र रुकुम पूर्वका केही स्थानमा मात्रै पानी परिरहेको छ । यतिबेला सबैभन्दा बढी पानी मधेस, बागमती र गण्डकी प्रदेशका जिल्लाहरूमा परिरहेको छ । मधेस प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाही, महोत्तरी र धनुषा जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ । त्यसैगरी सिराहा र सप्तरी जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोसी प्रदेशको ओखलढुङ्गा र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने भोजपुर, धनकुटा, सुनसरी र मोरङमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसैगरी झापा, इलाम, पाँचथर र तेह्रथुममा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लामा हल्का वर्षा भइरहेको छ । बागमती प्रदेशको सबै जिल्लाहरूमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।
बागमती प्रदेशको चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक लगायतका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ । त्यसैगरी धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लामा पनि हल्कादेखि भारी वर्षा भइरहेको छ । गण्डकी प्रदेशको गोरखा, तनहुँ, कास्की, स्याङ्जा, नवलपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । गण्डकी प्रदेशको पर्वत, बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाहरूमा पनि हलकादेखि मध्यम वर्षा भइरहेको छ ।
लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र पाल्पा जिल्लामा यतिबेला मध्यमदेखि भारी वर्षा भइरहेको छ । यी जिल्लाहरूमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी कपिलवस्तु, अर्घाखाँची र गुल्मी जिल्लामा यतिबेला मध्यम वर्षा भइरहेको छ भने पछि यी जिल्लाहरूमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । अहिले दाङ, रोल्पा र प्युठानमा हल्का वर्षा भइरहेको भए पनि पूर्वी रुकुम, रोल्पा, बाँके र बर्दियामा भने केही स्थानमा मात्रै पानी परिरहेको छ ।