काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतवारदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।
पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ ।
सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली देशभर फैलिई सामान्यदेखि पूर्णतया वदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हिमपातको संभावना रहेको विभागले जनाएको छ । सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना रहेको मौसम विभागले उल्लेख गरेको छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागको सूचनामा उल्लेख छ ।