काठमाडौं । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेक देशका अन्य भू–भागको मौसममा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १ र २ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् ।
प्रदेश १ का पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरको सूचनामा उल्लेख छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा पनि असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।