काठमाडौं– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ। यसका कारण आज दिउँसो र राति देशका विभिन्न भागमा मौसम बदली रहने र केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहने जनाइएको छ। ती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने छ। त्यस्तै, उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।



















