चैते छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ । व्रतालुहरूले दिनभरि निराहार व्रत बसेर साँझपख विशेष खरना पूजा गरी दूध, चिउरा र गुड मिसाइएको खीर ग्रहण गरिने चलन रहेको छ।
आजको खरना विधि सम्पन्न भएपछि व्रतालुहरू पूर्ण रूपमा शुद्ध भई २४ घण्टे निर्जला व्रत बस्ने परम्परा रहेको छ। यसक्रममा भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने प्रचलन छ।
चैते छठ विशेषगरी तराई क्षेत्रमा धूमधामका साथ मनाइने पर्व हो। सूर्य उपासनाको यस पर्वमा व्रतालुहरू चार दिनसम्म कठोर नियम पालना गरी सूर्य देवता तथा छठी माताको आराधना गर्छन्।
भोलि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ।