नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज शुक्रबार युएईको सामना गर्दैछ । यो फाइनल खेल अहिले बिहान-११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले हङकङ र युएईलाई दुई – दुई खेलमा हराएको थियो । युएई भने हङकङलाई एक खेलमा हराउँदै नेटरनरेटका कारण फाइनलमा पुगेको हो ।
नेपालले पछिल्लो खेलमा युएईलाई ५ विकेटले हराएको थियो । आजको खेलमा नेपालले एउटा परिवर्तन गर्ने सम्भावना छ । नेपालले अलराउन्डर विवेक यादवलाई बेन्चमा राख्दै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना छ किनभने युएईविरुद्ध ललितले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
चोटबाट फर्किएका ललितले नेपालका प्रमुख स्पिनरका रुपमा खेल्ने सम्भावनाछ । यो खेलमा सन्दीप लामिछाने टिममा छैनन् । त्यसैले पनि ललित अहिले नेपालका प्रमुख स्पिनर हुन् । नेपालका तर्फबाट कुशल भुर्तेल र आसिफ शेख ओपनर हुनेछन् । नेपालले पछिल्ला दुुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो तर युएईविरुद्ध कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । सोमपालले तल्लोक्रममा खेल्नेछन् ।
चौथोमा कप्तान रोहित पौडेल र पाँचौंमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । त्यस पछि करण केसी, सोमपाल कामी र गुलशन झा रहनेछन् । नेपालका तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको बलिङ महत्वपूर्ण हुनेछ । युएईको ब्याटिङ शीर्षक्रममा निर्भर छ ।