काठमाडौँ। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जलवायु पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यसका अतिरिक्त, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार हाल देशभर सक्रिय मनसुन प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाइएको छ।