काठमाडौं। आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोको समयको लागि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, ती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातको समयको लागि समेत देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।