काठमाडौँ । देशभर सोमबार मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सोमबार दिउँसो देशका सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमी विश्लेषणअनुसार, हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागको नजिक, औसत स्थानको उत्तरतर्फ अवस्थित छ। यसले गर्दा देशका अधिकांश स्थानमा वर्षाको गतिविधि देखिएको छ।
विभागले भीषण वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी, पहिरो र जलमग्नताबाट सावधानी अपनाउन आग्रह गरेको छ। यात्राका क्रममा सतर्कता अपनाउन र आवश्यक नपरी घरबाहिर ननिस्कन समेत विभागले अनुरोध गरेको छ।