काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर विरोधकाबीच सभामुखले कार्यसूची अघि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेर बाहिर निस्केको हुन् ।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।