आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व देशभर मनाइँदै छ । यस पर्वमा दिवंगत पितृहरूको सद्गतिको कामना गर्दै पशुपतिनाथसहित देशका विभिन्न शिवालयमा शतबीज (सात थरिका अन्न) छर्ने परम्परा छ ।
हिजो मङ्गलबार राति पशुपति क्षेत्रको मृगस्थली, कैलाश र श्लेष्मान्तक वन वरपर दीपदान गरी जाग्राम बसेका भक्तजनहरूले आज बिहानैदेखि शतबीज छरिरहेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूले शतबीज छर्ने क्रम जारी राखेका छन् ।
धार्मिक ग्रन्थ र लोककथामा बालाचतुर्दशीसँग एउटा रोचक कथा जोडिएको छ । उहिल्लै पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामका एक व्यक्ति खाजा खाँदै गर्दा पोलिरहेको शवको टाउको फुटेर गिदी उछिट्टिएर उनको चिउरामा परेको थियो । गिदी मिसिएको चिउरा असाध्यै मीठो लागेपछि उनी मानिसको गिदी खान थाले । लामा दाह्री-जुँगा र कपालले गर्दा मानिसहरू डराएर उनलाई “बालासुर राक्षस” भन्न थाले ।
पछि स्थानीय बासिन्दाले एक थकाली बूढाको सल्लाहमा बालासुरका मित वृषसिंहलाई उनको हत्या गर्न लगाए । मितको हत्याले छट्पटिएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवले दर्शन दिँदै मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन श्लेष्मान्तक वन वरपर शतबीज छर्न आज्ञा दिनुभयो । वृषसिंहले शतबीज छर्दा बालासुरले वैतरणी तरेर मुक्ति पाएको विश्वास गरिन्छ । त्यसैले यो दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने परम्परा चलेको हो ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार माता-पिता वा नजिकका पितृको मृत्यु भएको एक वर्ष नपुगेका (बरखी बारेकाहरू) ले दीपदान र शतबीज छर्नु हुँदैन ।
धर्मसिन्धु ग्रन्थमा यस्ता व्यक्तिले शिवको नामसमेत लिन नहुने उल्लेख छ । यसबाहेक बालाचतुर्दशीमा पशुपति पुग्ने भक्तजनले वासुकी नाग र गुह्येश्वरी देवीको पनि दर्शन-पूजा गर्नुपर्ने शास्त्रीय विधान रहेको विभिन्न ग्रन्थमा पाइन्छ ।



















