नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरको पहलगाममा भएको भीषण आक्रमणका दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंकवादी र तिनका समर्थकहरूलाई पृथ्वीको कुना–कुनासम्म पछ्याएर दण्डित गर्ने चेतावनी दिएका हुन्।
‘भारतले हरेक आतंकवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ,’ प्रधानमन्त्री मोदीले भने, ‘हामी तिनीहरूलाई पृथ्वीको कुना–कुना सम्म खोज्नेछौँ।’
पर्यटकीय स्थल पहलगाममा मंगलबार भएको आक्रमणमा २६ जना भारतीय र एक जना नेपाली नागरिकको मृत्यु भएको थियो। यो घटना सन् २००० यता मुस्लिम बहुल विवादित क्षेत्रमा सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमण मानिएको छ।
भारतले यस आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्धहरूमा कटौती गरेको छ। पाकिस्तानले भने यस आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
बिहार राज्यमा विकास परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली स्वरूप दुई मिनेट मौन धारण गरे।
‘जसले आक्रमण गरे, जसले योजना बनाए—उनीहरूलाई कल्पनाभन्दा बाहिरको मूल्य चुकाइनेछ,’ उनले हिन्दीमा भने, ‘एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतंकवादीहरूको मेरुदण्ड तोड्नेछ।’
प्रधानमन्त्री मोदीले भाषणको अन्त्यमा अङ्ग्रेजीमा बोलेर अन्तर्राष्ट्रिय समुदायलाई पनि भारतको कडा धारणा सुनाएका थिए। ‘आतंकवाद दण्डित हुनेछ, र न्याय सुनिश्चित गर्न सबै प्रयास गरिनेछ,’ उनले भने।
काश्मीर सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित भएको थियो। दुबैले यस क्षेत्रमा दाबी गरे पनि आ–आफ्नो नियन्त्रण अनुसार शासन गर्दै आएका छन्। सन् १९८९ यता भारत नियन्त्रित काश्मीरमा विद्रोह जारी छ, जहाँ विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै आएका छन्।
भारतीय सुरक्षा बलले आक्रमणकारीहरूको खोजीलाई तीव्र बनाएको छ र यस क्रममा धेरै व्यक्तिहरूलाई हिरासतमा लिएको बताइएको छ।