आत्महत्या बाट कसरी टाढा रहने?


विश्वमा हरेक ४० सेकेण्डमा एकजना मानिसले आत्महत्या गर्ने गरेका छन्। नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा पर्छ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार, हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन्। भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरेका छन्। नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

आत्महत्या गर्नेमा महिलाहरूभन्दा पुरुषहरू बढी छन्। नेपालमा पनि आत्महत्या गर्नेमा पुरुष नै बढी छन्। ७० वर्ष कटेकाहरूमा यो समस्या बढी देखिएको छ।

नेपालमा दैनिक करिब एक दर्जनभन्दा बढीले आत्महत्या गर्छन्, भने बर्सेनि पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक एक लाख मानिसमा २५ जनाले आत्महत्या गर्ने भएकाले नेपाल विश्वमै बढी आत्महत्या हुने देशको सूचीमा आठौं स्थानमा पर्छ।

आत्महत्याका प्रमुख कारणमध्ये शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक परिवेशसँग जोडिएका घटनाहरू हुन सक्छन्। सामाजिक कारण अन्तर्गत मानिसका दैनिक व्यवहारिक कुरा आउँछन्। जस्तै: ऋण, धन, गालीगलौज, चरित्र हत्या जस्ता समस्याले ग्रस्त मानिसले आत्महत्याको बाटो रोजेको देखिन्छ।
शारीरिक कारण अन्तर्गत कुनै ठूलो रोग, जस्तै टिबी, क्यान्सर लगायत दीर्घरोग वा उपचार हुन नसक्ने रोगहरूका कारण बाँच्ने आशा हराउँदै जाँदा मानसिक विचलन आएर आत्महत्याको बाटो रोज्न सकिन्छ।

आत्महत्याका ९० प्रतिशत कारण मानसिक समस्याका कारण हुने देखिन्छ। लागूऔषध दुर्व्यसनीमध्ये १५ प्रतिशत, पर्सनालिटी डिसअर्डरमा १० प्रतिशत र सिजोफ्रेनिया भएकामध्ये १० प्रतिशतले आत्महत्या गरेका छन्।

नेपालमा सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, आपसी अविश्वास, असुरक्षा, अन्याय, द्वन्द्व, बेरोजगारी, गरीबी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुर्व्यसन, जीवनमा निरन्तर असफलता, आवश्यकभन्दा बढीको जीवनशैली आदि कारणले आत्महत्या बढ्दो छ।

नेपाली सामाजिक जीवनमा अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि आत्महत्याका उत्तिकै जिम्मेवार कारक हुन्।

त्यसर्थ प्रश्न उठ्छ– के हाम्रो जीवन केवल निराशाको बिन्दुसम्म मात्र हो? त्योभन्दा अघि को जीवन के जीवन होइन?
जन्मेपछि कर्म भोग्नु अनिवार्य छ। बितिसकेका कुराबारे बहस गर्न नसकिने भए पनि वर्तमान र भविष्यको लागि सोच्न सकिन्छ।

हरेक असफलता सफलताको सिँढी हो। असफल हुनु जीवन बर्बाद हुनु होइन, तर गलत बाटो रोज्नु आफूमात्र होइन, आफ्नो परिवार र समाजलाई पनि असफल बनाउनु हो।

चिन्ता चिताको कारण हो। चिन्ताबाट टाढा रहनु नै उपयुक्त हुन्छ। भगवानले सृष्टि गरेका छन् भने, सृष्टिका प्रत्येक मानवलाई बाँच्ने अधिकार पनि दिएका छन्।
जसरी केही सपना मर्न सक्छन्, त्यसैगरी केही नयाँ पनि जन्मन्छन्। न केहि पातहरू झरेर रुखको हरियाली सकिन्छ, नत केहि फूलहरू झरेर बगैंचाको सौन्दर्य हराउँछ।

हुन त हाम्रो समाजमा आत्महत्या गर्ने व्यक्तिलाई कमजोर भनिन्छ, तर कहिलेकाहीँ ती व्यक्ति साहसी लाग्छन्– जसले आफ्नै सास रोके।
नाक, मुख थुनेर आधा मिनेट बस्न गाह्रो हुन्छ भने, ७–७ मिनेटको मृत्युको कष्ट सहन सक्ने मान्छे साहसी त हुन, तर जीवन हार्ने शर्तमा।
जीवन जित्ने शर्तमा कदापि होइन।

जीवन जित्ने शर्त भनेको हो – फाटेको मन सिउनु, भाँचिएका सपना पुनः जोड्नु, कठिन घुम्ती पार गर्न अठोट गर्नु।
भगवानले हामीलाई सम्झने शक्ति जत्तिकै, बिर्सने शक्ति पनि दिएका छन्। नराम्रा कुरा बिर्सनु, राम्रा कुरा जोड्नु – यही नै जीवन जिउने कला हो।
जीवनलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो विचारमा निर्भर गर्छ। राम्रो सोचले राम्रो परिणाम दिन्छ।
सुख र दुःख शारीरिक र मानसिक अवस्था हुन्। शरीर अनुकूल भए सुख हो, प्रतिकूल भए दुःख।

हामी यस्ता साना कुराहरू थाहा हुँदाहुँदै पनि ठूला कुराको पछि लागेर साना खुसीहरू बिर्सिरहेका छौं।
भनिन्छ– थोपा थोपा मिलेर सागर बन्छ। त्यसैगरी, स-साना खुसीहरूले नै ठूलो सुखी जीवन बन्छ।

यस धर्तीमा सबै प्राणी मर्नकै लागि जन्मन्छन्। कोही अमर छैन।
मानिस पनि छोटो समयका लागि धर्तीमा आउँछ, संघर्ष गरेर बाँच्छ र आफ्नो नाम अमर बनाउँछ।
मर्नको लागि मात्र होइन, बाँच्नको लागि संघर्ष गर्नु पर्छ। काम गर्नु पर्छ। फलको आश नगरी गरिएको मेहनतले नै इतिहास रच्दछ।

हामीमा जे जति भइरहेको छ, त्यसका जिम्मेवार हामी आफैँ हौं। अरू कोही होइन।
प्रतिकूलतालाई छोडेर, आफ्नै लागि केही खाली ठाउँ बनाऔँ जहाँ सृजनशीलता रोप्न सकियोस्।

मानव जीवनमा शारीरिक र मानसिक अनुकूलता नै सुख हो, र प्रतिकूलता दुःख हो।
धन, सम्पत्ति वा पद बिना पनि मानसिक सन्तुलन र शारीरिक तन्दुरुस्ती बिना खुशी मिल्दैन।

आजको समाजमा विशेषतः किशोर–किशोरी र युवा पुस्तामा आत्महत्या लहडजस्तै भएको छ।
योसँगै सामाजिक मनोविज्ञानको गम्भीर समस्या पनि बढ्दै गएको छ। क्षणिक आवेशमा गरिने यस्ता निर्णयले ती व्यक्ति त उम्कन्छन्, तर परिवार र समाजलाई गहिरो पीडा दिन्छन्।
त्यसैले आत्महत्याका विषयमा गम्भीर सोच, बहस र आवश्यक परामर्श आवश्यक छ।

आत्महत्याका कारणहरू:

१) कुनै कुरा मनमा डरको रूपमा बस्नु, बारम्बार सोही कुरा मनमा दोहोरिनु – जसले गर्दा निन्द्रा नलाग्ने, अन्ततः डिप्रेसनमा पुग्ने।

२) आफूलाई सधैं डर, तनावमा राख्नु।

३) कुनै कुरा जबर्जस्ती समातिराख्नु।

४) सबै कुरा परिवर्तनशील छन् भन्ने कुरा अस्वीकार गर्नु।

५) समस्या समाधानको प्रयास नगरी समस्या बाट भाग्ने प्रवृत्ति।

६) आधुनिक जीवनशैलीका कारण अत्यधिक कमाउनुपर्ने दबाब, कमाउन नसक्दा उत्पन्न तनाव र डिप्रेसन।

७) सामाजिक प्रतिष्ठामा असर पर्ने डर वा आत्मसम्मान गुम्ने डर।

८) सोचेजस्तो गर्न नसक्दा जीवनप्रति निराशा।

९) पारिवारिक कलह, बेमेल र विवाद।

१०) कुनै गम्भीर अपराधमा फस्ने वा फस्छु भन्ने डर।

११) मस्तिष्कमा लोड अत्यधिक हुँदा मानसिक सन्तुलन गुम्नु।

१२) पढाइ, जागिर वा व्यवसायमा असफलता।

१३) प्रेममा असफलता, धोका वा अस्वीकृति।

१४) ठूलो ऋणमा फस्नु वा धननाश।

१५) मानसिक दबाब सहन नसक्नु, दीर्घ रोग लागेर उपचार गर्न नसक्नु।

१६) शारीरिक रूपमा अपांगता र त्यसबाट उत्पन्न निराशा।

१७) आत्मचिन्तन र चेतनाको कमी, आर्थिक अभाव।

हरेक मानिसको जीवनमा सुख-दुःख, उतार-चढाव आउँछन्।
सकारात्मक सोच र धैर्य राखेर अगाडि बढ्न सके ९९% आत्महत्या रोकिन सक्छ।
हामीले हरेक व्यक्तिको भित्रको आत्मालाई जगाउन जरुरी छ।
“मेरो कुनै भविष्य छैन” भन्ने सोच होइन, “मेरो भविष्य निर्माण गर्न सक्छु” भन्ने सोच जरुरी छ।

राज्यले पनि नागरिकलाई सुरक्षित र आशामूलक वातावरण दिनु पर्दछ।
जब हामी एउटै कुरामा अड्किन्छौं, अगाडि बढ्ने बाटो बन्द हुन्छ।
समस्या आउँछन्, अझै आउनेछन् – तर डराउने होइन, सामना गर्ने सोच हुनुपर्छ।

आत्महत्या कहिल्यै समाधान होइन।

जब कसैलाई तनाव हुन्छ, परामर्शदातासँग वा विश्वासिलो साथीजनसँग कुरा गर्नुपर्छ।
डर मनमा नराख्ने, अरूसँग तुलना नगर्ने, नयाँ जीवन र वातावरण बनाउने प्रयास गर्नु आत्महत्या बाट टाढा रहने उपाय हो।


– इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *