पालिका सन्देश / बुधबारेस्थित आदर्श युवा क्लबको साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार क्लबको आफ्नै भवनमा भएको साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष मातृका श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बुद्धशान्ति-३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा पूर्व अध्यक्षहरू राजेन्द्र कुमार राई र तुलसीराम बिमली, निवर्तमान अध्यक्ष मनेष दाहाल, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा क्लबका साधारण सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उपाध्यक्ष दिपक सुब्बाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य चन्द्र कुमार कटुवाल, निवर्तमान अध्यक्ष मनेष दाहाल तथा प्रमुख अतिथि पर्शुराम चेम्जोङले राख्नुभएको थियो। कार्यक्रम सञ्चालन सचिव दुर्योधन सिंह राजपुतले गर्नुभएको थियो।
साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण तथा आर्थिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रम प्रस्ताव पेस गरी सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै विविध विषयमा छलफल गर्दै पुरानो समिति विघटन गरी निर्वाचन समिति गठन गरिएको थियो।
राजेन्द्र कुमार राईको संयोजकत्वमा तुलसीराम बिमली र मनेष दाहाल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा दिपक सुब्बा, उपाध्यक्षमा हरि बहादुर मुखिया (मिलन), सचिवमा दुर्योधन सिंह राजपुत (देव), सह–सचिवमा सुनित राई (विक्की) र कोषाध्यक्षमा बाल कुमार राई चयन भएका छन्। सदस्यहरूमा मातृका श्रेष्ठ, खड्ग श्रेष्ठ, सन्तोष कुमार ढकाल, राम घिमिरे, करण शेर्पा र तारा गौतम रहेका छन्।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।



















