काठमाडौँ — शुक्रबार राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा भएको आगलागीमा परी एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको निधन भएको छ।
प्रहरीका अनुसार आन्दोलनकै बीच काठमाडौँमा भएको आगलागीमा फसेका रजकको मृत्यु भएको पुष्टि भएको छ। आगलागीमा परेका व्यक्तिको पहिचान नखुलेको भन्दै सुरक्षाकर्मीहरूले पहिले अन्यथा जानकारी दिए पनि पछिसम्म गृह मन्त्रालय स्रोतले नै मृतक पत्रकार रजक रहेको पुष्टि गरेको हो।
सो घटनामा रजक फसेको थाहा पाएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडियो) ऋषिराम तिवारी र प्रहरीलाई पटकपटक फोन गरेका थिए। तर, सुरक्षाकर्मीहरूले समयमा कुनै ठोस प्रतिक्रिया नदिएको बुझिएको छ। सिडियो तिवारीले समेत फोन उठाएका थिएनन्।
यसैबीच, सोही आन्दोलनमा कीर्तिपुरका सविन महर्जनको गोली लागेर मृत्यु भएको छ। आन्दोलन हिंसात्मक बन्दै गएपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।