कचनकवल । भदौ १३ गते जेनजि आन्दोलनका क्रममा कचनकवल गाउँपालिकाभित्र रहेका इलाका प्रहरी कार्यालय र मुख्य सडक क्षेत्रका सिसिटिभी क्यामेरा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए।
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, विशेषगरी निगरानी प्रणालीमा ठूलो क्षति पुगेपछि स्थानीय सुरक्षा व्यवस्थामा चुनौती थपिएको थियो।
यही समस्यालाई मध्यनजर गर्दै नागरिक समाजको अगुवाइमा पुनर्निर्माण कार्य सुरु गरिएको हो। पुनर्निर्माण अभियान अन्तर्गत कचनकवल–६, बनियानीस्थित कचनकवल कम्प्युटर सप्लायर्स ले सहयोगस्वरुप महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। सो कम्प्युटर सप्लायर्सले प्रहरी कार्यालय परिसर र बनियानी चोकमा निःशुल्क रुपमा नयाँ सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ।

सिसिटिभी जडानसँगै विद्युत् लाइन, इन्टरनेट तथा आवश्यक प्लम्बिङ कार्यसमेतको मर्मत सम्भार सम्पन्न गरिएको कचनकवल कम्प्युटर सप्लायर्सले जनाएको छ। यसले गर्दा अब इलाका प्रहरी कार्यालय र मुख्य चोकमा सुरक्षासम्बन्धी गतिविधिहरू निरन्तर अनुगमन गर्न सकिनेछ।
नागरिक समाजका प्रतिनिधिहरूले सार्वजनिक सुरक्षामा देखाएको सक्रियता र सहकार्यका लागि कचनकवल कम्प्युटर सप्लायर्सलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले स्थानीय व्यवसायी र नागरिकबीचको सहकार्यले मात्र समुदायमा सुरक्षाको वातावरण मजबुत हुने भन्दै यसलाई सकारात्मक पहलको रूपमा व्याख्या गरेका छन्।
जडान भएका नयाँ सिसिटिभी क्यामेरा हिजोदेखि नियमित सञ्चालनमा आएको छ।