विराटनगर। जेन जी युवा आन्दोलनका क्रममा विराटनगर र धरानमा घाइते भएका अधिकांश युवाहरू उपचारपछि घर फर्किएका छन् ।
कोशी अस्पतालले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा उपचारका लागि पुगेका ५८ जनामध्ये ५७ जनालाई डिस्चार्ज गरिएको जनाएको छ । हाल एकजनाको मात्र उपचार भइरहेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सोमबारदेखि अहिलेसम्म १८ जना घाइते उपचारका लागि भर्ना भएका थिए ।
प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानका अनुसार बुधबार बिहानसम्म उपचारका लागि पुगेकामध्ये २२ वर्षीय पूर्ण परियारको मात्र उपचार भइरहेको छ । उनको अनुहारमा भित्री चोट लागेको छ ।
यसअघि, सोमबार प्रतिष्ठानमा भर्ना भएका ११ जनामध्ये ६ जना घर फर्किएका छन् भने ३ जनाको उपचार जारी छ ।
प्रवक्ता डा. प्रधानले आन्दोलनका क्रममा उपचारका लागि ल्याइएका दुई जनाको मृत्यु भएको पनि जानकारी दिएकी छन् ।