घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाईंले गोलभेँडा खेतीबाट आर्थिक सफलता हासिल गरेका छन्। उनले पाँच बिघा जमिनमा गोलभेँडा खेती गरेर वार्षिक १० देखि १२ लाख रुपैयाँ बचत गर्छन्।
चापागाईं व्यावसायिक गोलभेँडा खेतीमा अब्बल किसानका रूपमा चिनिएका छन्। उनको खेती यो क्षेत्रको नमुना बनेको छ, जसले उपभोक्तादेखि देख्ने सबैलाई आकर्षित गर्छ। उनको बारीमा अहिले गोलभेँडा लटरम्म फलेका छन्, कतै पाकेका, कतै पाक्ने क्रममा। यो खेतीले उनलाई सफल र उत्कृष्ट किसानको पहिचान दिएको छ।
विसं २०७५ मा ४ लाख रुपैयाँ लगानीबाट अरूको जमिन भाडामा लिएर खेती सुरु गरेका चापागाईंले अहिलेसम्म करिब २० लाख रुपैयाँ लगानी गरेका छन्। उनले उन्नत जातका गोलभेँडासँगै बेमौसमी तरकारी पनि लगाएका छन्। जमिनको भाडा वार्षिक प्रतिकठ्ठा ३ हजार रुपैयाँ तिर्छन्। उनको फार्ममा ६ जनाले रोजगारी पाएका छन्। उनले भने, ‘सबै खर्च कटाएर सालमा १२ लाखसम्म बचत गर्छु।’
उनकी श्रीमती पनि यो व्यवसायमा संलग्न छन्, तर दुई छोरा भने जिल्लाबाहिर काम गर्छन्। गोलभेँडा खेतीबाट यति कमाउनु सामान्य होइन। उनले भने, ‘म यो व्यवसायबाट सन्तुष्ट र खुसी छु। आफ्नै माटोमा मेहनत गरेको छु, माटोप्रति माया बढेको छ।’ ग्राहकहरू बारीमै आएर गोलभेँडा, खुर्सानीलगायत तरकारी किनेर लैजाँदा उनलाई आनन्द लाग्छ।
बर्दियाको गेरूवा गाउँपालिका–३ मा स्थायी घर भएका चापागाईंसँग खेतीयोग्य जमिन र सिँचाइ सुविधा छ। तर, बजार अभाव र तरकारी खेतीका लागि उपयुक्त तापक्रम नहुँदा उनी दाङ आएका हुन्। उनले भने, ‘दाङमा नजिकका आफन्त थिए। उनीहरूको गोलभेँडा र तरकारी खेती देखेर म आकर्षित भएँ। सुरुमा घोराहीको मसिनामा एक बिघा जमिन भाडामा लिएर गोलभेँडा खेती थालेँ।’
पछि जमिन साँघुरो भएपछि पाँच वर्षदेखि यो ठाउँमा खेती गरिरहेका छन्। गोलभेँडा खेतीबाट बढी फाइदा हुने र लामो समय फल्ने भएकाले उनले यो रोजेका हुन्। गोलभेँडासँगै काँक्रो, खुर्सानी, बोडी, सिमी पनि लगाएका छन्। थोक व्यापारीहरू फार्ममै आएर तरकारी लैजान्छन्। अहिले गोलभेँडाको सिजन भएकाले प्रतिकिलो ३० रुपैयाँमा बेच्नुपरेको उनको गुनासो छ। पहिले यो ९० देखि १०० रुपैयाँसम्म बिक्थ्यो। उनको गोलभेँडा दाङ, बुटवल, पोखरा, नेपालगञ्जलगायत सहरमा पुग्छ।
उनले नेपालमा कृषिको ठूलो सम्भावना भए पनि राज्यले यसका समस्या समाधानमा ध्यान नदिएको बताए। कृषिले अर्थतन्त्रमा योगदान गरे पनि तरकारी र कृषिजन्य वस्तु आयात हुनु दुखद् भएको उनको भनाइ छ। उनले आयात निरुत्साहित गर्नुपर्ने सुझाव दिए। चापागाईंले राज्यले कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने र दक्ष जनशक्ति विदेश पलायन रोक्नुपर्ने बताए। उनले भने, ‘देशभित्र सीपमूलक कृषि कार्यक्रम चलाउनुपर्छ। विदेशिने युवालाई स्वदेशमै रोक्न एकीकृत कृषि फार्म सञ्चालन गर्नुपर्छ।’
आफ्नै माटोमा मेहनत गरे सुन फल्ने भन्दै उनले विदेश जाने युवालाई स्वदेशमै पसिना बगाउन सुझाए। उनले भने, ‘हाम्रो धर्ती मलिलो छ। यहाँ जे रोपे पनि फल्छ। विदेश जानुपर्दैन।’ सरकारले किसानका लागि वातावरण बनाइदिनुपर्ने, सस्तो ऋण दिनुपर्ने र उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने उनको माग छ। नारायणी रजौरे/रासस