Search
Close this search box.
Search
Close this search box.

आरनले धानेको पुष्पलालको जीवन

आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यबसाय नरुचाएको उनको बुझाई छ ।

तीर्थ तिम्सिना, बुद्धशान्ति (पालिका सन्देश) । पछिल्लो पीँढीका अधिकांश युवायुवतीहरुलाई आरनका बारेमा थाहा नहुनसक्छ । हँसिया, खुकुरी, चुलेसी, ओदान, फरुवा, कुटो, कोदालो जस्ता दैनिक जीवनका औजारहरु बनाउने ठाउँ हो, आरन ।

झापा बुद्धशान्ति–२ जयपुरको जिम्मा टोलमा बसोबास गर्ने ७० बर्षीय पुष्पलाल रसाईलीको दैनिकी यही आरन चलाउँदै बितिरहेको छ । उमेरले पाको भएपनि रसाईलीको जोश र जाँगर भने तन्नेरीहरुको भन्दा कम छैन ।

EPIC

बिहानीको झुल्के घामसँगै परम्परागत रुपमा फलामका सामग्री बनाउने काम गर्छन् रसाईली । आगोको रापले उनको अनुहारै रातो भइसकेको छ । अर्जाप्दै गरेको खुकुरीमा पसिनाको थोपा तप्लक्क खस्दा कहिलेकाँही झस्किने समेत गर्छन् उनी ।

पाँचथरको खुँगाबाट ४० सालमा झापा आएका पुष्पलालको संघर्ष अहिले पनि जारी छ । आफ्नो बुबाको प्रेरणाले आरन चलाउन सिकेका हुन् । उनले भने ‘पुर्खादेखि नै यही काम गर्दै आएका छौँ, आरनको काम गरेरै बुबाले हामीलाई पाल्नुभयो ।’ आरनको पङ्खा घुमाउँदै उनले भने, त्यही भएरै मैले पनि आरन पेशा अङ्गालेको हुँ’ उनले भने । फलाम बनाउने काममा उनलाई श्रीमती मीनाकुमारी रसाइलीले पनि दरिलो साथ दिएकी छिन् ।

बुढ्यौली उमेरमा यस्तो काम गर्दा गाह्रो हुन्न ? भन्ने प्रश्नमा उनी भन्छन्, “म अहिले पनि काम गर्न सक्छु । सकुञ्जेल काम गर्नुपर्छ, काम गर्न छोड्यो भने पो बूढो भइन्छ त ।”गाउँघर वरिपरिका किसानका औजारलाई अर्जापी दिने मात्र हैन यो उमेरमा पनि आफै नयाँ औजार बनाएर बेच्ने गर्छन । उनको मुख्य बजार भनेको बुधबारे, जयपुर, होक्से, खुदुनाबारी, कालिस्थान, शनिश्चरे, चारआली, बुट्टाबारी हो । उनी गत सालसम्म पुरानै प्रविधिबाट फलाम पिटिरहेका थिए ।

वडाले दलित लक्षित कार्यक्रम अन्तरगत २५ हजार छुट्याएर आरनमा प्रयोग हुने विद्युतिय सामान दिएपछि अलिक सजिलो भएको बताए । यो पेसा जोखिमपूर्ण छ, आगो र फलामसँग काम गर्नुपर्छ, खुल्ला घरको पेटी बरण्डामा काम गर्नुपरेकाले धुलो र धुवाँ सहनु परिरहेको उनले सुनाए ।

उनका लागि जीवन गुजाराको एउटै बाटो यही आरन मात्रै हो । आरन सञ्चालनका लागि अहिलेसम्म वडाले दिएको २५ हजार बराबरको सामान बाहेक कहीँबाट केहीपनि सहयोग नपाएको बताए । आरन व्यबसायमा अरु पेशा भन्दा मेहनत धेरै गर्नुपर्ने पुष्पलालको बुझाई छ ।

‘गर्मीमा आगोसँग दिनहुँ जसो खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम पगाल्न धेरै मेहनत गर्नुपर्छ ।’ आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यबसाय नरुचाएको उनको बुझाई छ । आधुनिकीकरण हुन नसक्दा आरन व्यबसाय लोप हुँदैछ, उनले भने ‘मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरी, खुकुरी लगायतका औजार बनाउन गाउँले उनको आरनमा आउने गरेका छन् ।

पछिल्लो समय बजारमा आएका आयातित आधुनिक सामग्रीका साथै आगामी पुस्ताले यस्तो पेशालाई अंगाल्न नचाहेको देख्दा उनी दुःखी समेत हुन्छन् । पुख्यौली पेशालाई अंगालेर जीवन चलाउँदै आएका पुष्पलाललाई एउटै चिन्ता छ, ‘कतै पेशा त लोप हुने हैन ? ’अहिलेको पुस्ता गाउँमा आरनको काम गर्नुभन्दा विदेश जान रुचाउँछन् उनले भने । व्यावसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको छ ।

पुष्पलाल मात्र होइन यस क्षेत्रका आरन सञ्चालन गरेर बसेका अन्य व्यक्तिहरुको समेत जीवनस्तर माथि उठ्न सकेको पाइँदैन । दैनिक गुजारा चलाउन मात्र आरनमै निर्भर रहनुपरेको आरन संचालकको गुनासो छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको दरिलो स्रोत बन्न नसक्दा युवाको आकर्षण बढ्न सकेको छैन ।

कतिपय ठाउँमा पुर्खादेखी गर्दै आएको आरन पेसाले परिवार पाल्नलाई समेत धौ–धौ भएपछि पेसाबाट नै विस्थापित हुनेगरेको पाईन्छ । फलामलाई पगाल्न कोइलाको आवश्यक पर्छ, उनी कोइला बरफल्याङ्बाट प्रतिबोरा १५ सय रुपैंयाले खरिद गरेर ल्याउने गर्दछन् । यहाँ स्थानीय क्षेत्रमा दाउराको अभावले कोइला उपलब्ध नहुनुका साथै मंहगो भएकाले आँफू समस्यामा परेको सुनाउँछन् । राम्रो कोइलाले मात्र फलाम पगाल्न सजिलो हुने उनी बताउँछन् । उनको जीवन संघर्ष पूर्ण छ, यद्यपी उनी यसपेशा प्रति सन्तुष्ट छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *