इजरायलको हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ। आक्रमणमा परी अन्तर्राष्ट्रिय सचामार संस्थानहरूका ६ जना पत्रकार घाइते भएको घटनास्थलमा रहेका रोयटर्सकै अर्का पत्रकारले बताएका छन्।
रोयटर्स, अलजजीरा र एजेन्सी फ्रान्स-प्रेस (एएफपी)का पत्रकारहरू इजरायली सीमा नजिक अल्मा अल-शाबमा भिडियो खिचिरहेका थिए। रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाह इजारायलले लेबनानमाथि गरेको आक्रमणमा मारिएका हुन्।
लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहका एक सांसदले घटनाको दोष इजरायललाई लगाएका छन्।
इजरायली अधिकारीहरुले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको रोयटर्सको समाचारमा उल्लेख छ। तर बीबीसीले भने इजरायलले घटनाप्रति दुख व्यक्त गर्दै क्षमायाचनासमेत गरेको उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड एर्डनले भने आफूहरुको ध्येय पत्रकारहरूमाथि आक्रमण गर्नु नभएको तर युद्धका बेला यस्तो हुन सक्ने उल्लेख गरेका छन्।
‘आफ्नो काम गरिरहेका पत्रकारलाई मार्न चाहँदैनौं। तर तपाईंलाई थाहा छ, हामी युद्धको अवस्थामा छौं, अनपेक्षित चीजहरू हुन सक्छन्,’ शुक्रबार एक ब्रीफिंगमा उनले भने। घटनाका विषयमा देशले छानबिन गर्ने उनको भनाइ छ।
रोयटर्सले जारी गरेको विज्ञप्तिमा लाइभ भिडियो प्रसारण गरिरहेका पत्रकारलाई मारिएको उल्लेख गरेको छ। रोयटर्सको भिडियोमा क्यामेरा पहाडतर्फ देखाइएको छ। ठूलो विस्फोटले आवाजले क्यामेरा हल्लिएको र धुवाँको मुस्लो पनि भिडियोमा देख्न सकिन्छ। यसपछि चिच्याहट सुनिएको छ।
‘हाम्रा भिडियोग्राफर इसाम अब्दल्लाह मारिएकोमा हामी गहिरो दुःखी छौं,’ रोयटर्सले भनेको छ, ‘हामी थप जानकारी लिने प्रयासमा छौँ। यस क्षेत्रका अधिकारीहरूसँग समन्वय गरी काम गरिरहेका छौँ। इसामको परिवार र सहकर्मीहरूलाई सहयोग गरिरहेका छौँ।’
रोयटर्सका अन्य दुई पत्रकार थेर अल-सुदानी र माहेर नाजेह घटनामा घाइते भएका थिए। उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
नाजेहले रोयटर्स र दुई अन्य समाचार संस्थाहरूले इजरायलको दिशाबाट आएको क्षेप्यास्त्र खिचिरहेका थिए। ढुङ्गाको पर्खालमा बसिरहेका बेला एक क्षेप्यास्त्रले अब्दुल्लाहलाई भेटेको थियो। केही सेकेन्डपछि नै अर्को मिसाइलले उनीहरूको कारमा प्रहार गर्यो र त्यसमा आगो लाग्यो।
एएफपी र अल जजीरालगायत समाचार आउटलेटहरूले ती क्षेप्यास्त्र इजरायलले प्रहार गरेको भन्दै समाचार प्रकाशन गरेका छन्। तर रोयटर्सले भने ती क्षेप्यास्त्र इजरायलले नै प्रहार गरेको भन्ने प्रमाण आफूहरूसँग नभएको उल्लेख गरेको छ।
एपीले पनि आक्रमणमा परी आफ्नो संस्थामा काम गर्ने दुई पत्रकार घाइते भएको बताएको छ।
अलजजीराले आफ्ना दुई जना पत्रकार पनि घटनामा घाइते भएको उल्लेख गरेको छ। उसले पनि ती क्षेप्यास्त्र इजरायलले नै प्रहार गरेको उल्लेख गर्दै यो ‘आपराधिक कार्य’ भएको बताएको छ।
‘हाम्रो प्रसारण टोलीकोको सवारी साधनमा बम विस्फोट गराइएको थियो। विस्फोटबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिले प्रयोग गरेको सवारी पूर्ण रूपमा जलेको छ,’ अल जजीराले भनेको छ।
इजरायल र हेजबुल्लाहसँग घनिष्ठ सम्बन्ध रहेको प्यालेस्टिनी मिलिसिया हमासको बीच युद्ध सुरु भएदेखि अल्मा अल-शाब गाउँमा बारम्बार झडप भइरहेको छ।
हमास लडाकुहरूले गत शनिबार गाजा पट्टीबाट बाहिर निस्केर इजरायली नागरिक र सैनिकहरूमाथि घातक हमला गरेका थिए। यसपछि इजरायलले गाजामा भारी बमबारी सुरु गरेको छ।
रोयटर्ससँगको अन्तर्वार्तामा अब्दुल्लाहकी आमा फातिमा कान्सोले आफ्नो छोराको मृत्युको कारण इजरायल भएको आरोप लगाएकी छन्।
‘इजरायलले जानाजानी मेरो छोराको हत्या गर्यो। तिनीहरू सबैले पत्रकारको गियर लगाएका थिए। ‘प्रेस’ लेखिएको गियर प्रष्ट देखिन्थ्यो। इजरायलले यो अपराधलाई अस्वीकार गर्न सक्दैन,’ उनले भनेकी छन्।
अब्दुल्लाह मारिएको केही समय अघि, उनले सामाजिक सञ्जालमा हेलमेट र फ्ल्याक ज्याकेट लगाएको फोटो पोस्ट गरेका थिए। जसमा “प्रेस” शब्द प्रष्ट रूपमा देखिन्छ।
इजरायली रक्षा/सेनाका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
लेबनानस्थित संयुक्त राष्ट्र अन्तरिम बल (शान्ति सेना)ले इजरायलसँगको लेबनानको सीमामा गस्ती गर्ने गरेको छ। उसले पत्रकारको मृत्युको समाचारले दुःखी बनाएको र गोलीबारी रोक्न आह्वान गरेको छ। -रोयटर्स