इन्टरनेट मर्मतका क्रममा करेन्ट लाग्दा झापामा एक युवकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–१ का २१ वर्षीय आशिष खनालको इन्टरनेट केबल मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुभाष केसीका अनुसार खनाल फर्स्ट लिङ्क इन्टरनेट नामक निजी इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत थिए। कात्तिक ११ गते पोलमा इन्टरनेट केबल जडान गर्ने क्रममा उच्च भोल्टेजको तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

EPIC EPIC EPIC

घाइते अवस्थामै उनलाई तत्काल दमकस्थित आम्दा अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि विराटनगरको नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो। नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपछि उनलाई घर फर्काउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले मुचुल्का संकलन गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। मृतक खनाल शिवसताक्षीका प्रसिद्ध पण्डित आचार्य गोकुल खनालका कान्छा छोरा हुन्।

स्थानीयवासीका अनुसार आशिष इमानदार, परिश्रमी र मिलनसार स्वभावका थिए। उनको असामयिक निधनले गाउँभर शोकको छायाँ छाएको छ। परिवार, सहकर्मी र समुदायका सदस्यहरूले उनको आत्माको चीरशान्तिको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेका छन्।

यस घटनापछि इन्टरनेट मर्मत तथा विस्तारका कार्यमा संलग्न मजदुरहरूका सुरक्षा मापदण्ड र उपकरणको अभावबारे स्थानीयहरूले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले यस्ता जोखिमपूर्ण कार्यमा संलग्न कर्मचारीका लागि सम्बन्धित निकायले स्पष्ट नीति, अनुगमन र सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *