काठमाडौं। कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित २४ रनको पारी खेलिन् ।उनले पाँचौं ओभरमा लगातार ३ चौका तथा छैटौं ओभरमा १ चौका र १ छक्का बटुल्दै नेपालको जित पक्का गराइन् । त्यसअघि सम्झना खड्का ५, रुबी पोदार १, कविता जोशी शून्य र पुजा महतो १३ रनमा आउट भए । अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् । उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्नेछ ।