इलाम – मासुको लागि मानिसहरू कति क्रूरतासम्म जान सक्छन् भन्ने कुराको कल्पना गर्न गाह्रो छ। इलामको सूर्योदय नगरपालिका-६, कन्याममा एउटा दर्दनाक घटना सार्वजनिक भएको छ। गोठमा बाँधिएको गोरुको जिउँदै फिला काटेर मासु चोरी भएको छ।
स्थानीय संचारकर्मी गोपाल गिरीका अनुसार, गोरुको एकापट्टि फिलाको मासु हड्डीसम्म खुर्किएर निकालिएको छ। करिब चार किलो मासु चोरी भएको अनुमान गरिएको छ। उनले घटनाको भिडियो ‘कन्याम पोस्ट’ मा सार्वजनिक गरेका छन्।
यो कुनै एकपटकको घटना मात्रै होइन। यसअघि पनि यही गोरुको फिला काटेर लगिएको थियो। घरेलु उपचारपछि घाउ निको हुँदै थियो, तर फेरि दोहोरिएर उस्तै घटनाले गोरुको ज्यानै लिएको छ।
गोरुका धनी राम राईले आफ्नो गोरु जिउँदै छाला चुँडिएको अवस्थामा भेटेका थिए। उनले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरे पनि ठोस कारबाही नभएको गुनासो गरेका छन्।
” म कन्याममा बनिबुतो गरेर बस्छु। गोठ र घरको दूरी करिब १०० मिटर भए पनि भूगोलले गर्दा त्यहाँ के भइरहेको छ, थाहा पाउन सक्दिन। राति घाँस खुवाएर फर्किएँ, तर बिहान हेर्दा गोरुको फिला नै छैन। पहिल्यै पनि यस्तै भएको थियो, बल्लतल्ल बचाएको थिएँ, तर यसपटक सकिएन। प्रहरीले घटनाको भिडियो खिच्न मात्र भने, कारबाही केही गरेन।”
उनी भन्छन्, “मात्र मेरो होइन, यहाँ अरूको पनि जनावरहरूमाथि यस्तै आक्रमण भइरहेको छ। केही समयअघि एक जिउँदो खसीको मासु यसरी नै काटेर लगिएको थियो। केही युवाहरूलाई शंका गरिएको थियो, तर प्रहरीले पक्राउ गरेर पनि कारबाही नगरी छाड्यो।”
स्थानीयहरूले लगातार गोरु चोरी र हत्या भइरहेको गुनासो गरिरहेका छन्। तर, प्रहरी र जनप्रतिनिधिले यसबारे गम्भीर ध्यान नदिएको पीडितहरूको आरोप छ। यस्ता घटनाले स्थानीय किसानहरूमा डर र आक्रोश बढाएको छ