इलाम। इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राई छन् ।
काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ ७ बजेतिर करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल लगिएको थियो ।
उपचारक्रममा उनको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगूले बताए । राईले ज्यालामा करिडोरको काम गर्ने गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।