इलाम । इलाममा सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । सडकमा सवारीसाधनको चाप बढेर साँघुरिएका कारण दुर्घटनाको जोखिम उच्च बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्यांकमा दुर्घटना बढ्दै गएपनि मानवीय क्षतिको संख्या भने घटेको छ ।
आर्थिक वर्ष २०७८र७९ मा जिल्लामा ३२ वटा सवारी दुर्घटना हुँदा १८ जनाले अकालमै ज्यान गुमाएका थिए । दुर्घटनामा परेर १ सय १८ जना मानिस घाईते भए । तर चालु आर्थिक बर्ष ०७९र०८० को असार २२ गतेसम्म जिल्लामा सवारी दुर्घटनाको संख्या भने उच्च रहेको छ । तर दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या गत आर्थिक बर्षको तुलनामा कम छ ।
चालु आर्थिक बर्षमा इलाममा ११ जनाको दुर्घटनामा ज्यान गएको छ । १ सय ११ जना घाइते भएका छन् । चालु आर्थिक बर्षमा जिल्लामा ६२ वटा सवारी साधन दुर्घटनामा परेको छ । भौगोलिक कारण, घुमाउरो बाटो, मौसमको कारण साथै चालकको लापार्वाहीको कारण इलाममा सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका इन्चार्ज दिपक दुलालले बताए ।
पछिल्लो समय जिल्लामा सवारीसाधनको संख्या वृद्धि हुनु पनि दुर्घटनाको कारण मानिदै आएको छ । दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी चालकका साथै जिल्लाका बिभिन्न बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको कार्यालयका प्रहरी हवल्दा रिद्धि खनालको भनाई छ ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा साना सवारी साधन बढि दुर्घटनामा परेको छ । त्यसमध्ये पनि दुईपांग्रे बढी छ । चालु आवको हालसम्म मोटरसाईकल ३० वटा दुर्घटना हुँदा जिपरकार १८ वटा दुर्घटना भएको छ । दुर्घटनाको संख्या मात्र नभएर दुईपांग्रेबाट ज्यान गुमाउने संख्या पनि अन्य सवारीसाधनको भन्दा उच्च रहेको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म दुईपांग्रे सवारी साधनबाट १० जनाले ज्यान गुमाएका छन् । यसैबीच दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लामा ट्राफिक सप्ताह कार्यक्रम पनि चलिरहेको छ । यो कार्यक्रम अन्तर्गत सवारी चालकको स्वास्थ्य परिक्षण, मापसे, लापसे सेवनको जाँच, सवारी चेकजाँचको काम भइरहेको छ ।
यातायात ब्यबस्था कार्यालय इलामको सहयोगमा गरीएको सवारी चेकजाँचका क्रममा ग्रामिण भेगमा चल्ने सवारी साधनको सिट क्षमतामा समस्या, मोटडफाई गरेर सञ्चालन गर्दै आएको भेटिएको यातायात कार्यालय इलामका प्राबिधिक सुरज केसीले बताए ।
जिल्लामा कच्ची र पक्की गरी सवारी साधन चल्ने ५ हजार ४ सय ८९ किलोमिटर सडक रहेको छ । त्यसमा कालोपत्रे सडक २ सय ९० किलोमिटर रहेको छ । कार्यालयले चालु आर्थिक बर्षमा ट्राफिक नियम उल्लङघन गर्ने ११ हजार ८ सय ५१ सवारी साधनलाई कारबाही गरेको छ ।
कारवाहीबाट ६७ लाख ६५ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । संकलित यो राजश्व र सवारी कार्वाही गत आर्थिक बर्षको भन्दा बढी हो । गत आर्थिक बर्षमा ८ हजार ८ सय ८७ सवारी साधनलाइ कार्वाही गर्दा ५१ लाख ६० हजार रुपेंयाँ राजश्व संकलन भएको थियो ।