इलाम। विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने भएको छ ।
जेठ २६ देखि २८ सम्म सदरमुकाममा चिया महोत्सव आयोजना गरिने भएको आयोजक समिति संयोजक तथा इलाम नगरपालिका प्रमुख केदार थापाले बताए ।
समितिको बैठकले नेपाली चियाको बजारीकरणमा सहयोग पुग्ने र चिया पर्यटनलाई समेत टेवा पुग्ने भएकाले महोत्सव आयोजना गर्ने निर्णय गरेको संयोजक थापाले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुनेछ ।
१९२० सालमा इलामबाटै देशमा चिया रोपण सुरु भएको थियो । यो खेती अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको छ ।
‘चिया रोपण पनि इलामबाटै भएको र देशको जेठो चिया कारखाना पनि १९३५ सालमा इलाममै स्थापना भएकाले यो महोत्सवले विशेष महत्व राख्नेछ,’ संयोजक थापाले भने, ‘महोत्सवमा चिया किसान, उद्योगी, व्यापारी सहभागी गराउने लक्ष्य छ ।’
महोत्सवमा उत्कृष्ट उत्पादन भएका अर्थोडक्स चियाका प्रकार, टेस्टिङसहित विभिन्न स्वाद र जातका तयारी चियाका स्टल रहने जनाइएको छ ।