बुधबारे । झापामा इडिभीको आवेदन दिने युवायुवतीहरुको भीड लागेको छ । अमेरिकाले सन् -२०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी )कार्यक्रमको आवेदन खुला गरेसँगै झापाका विभिन्न स्थानमा आवेदन दिनेको भीड लागेको हो ।
बेरोजगार युवायुवतीहरु चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा ईडिभी भर्न लागेका बुधबारेका सुमन क्षेत्रीले बताएका छन् । स्थानीय बेरोजगार युवायुवतीहरु अमेरिका जाने होडमा उत्साहसहित भएर आवदेन दिइरहेका बुद्धशान्तिमा सञ्चालिक ग्लोबल टर्ट नेपालका सञ्चालक सुजन दंगालले बताएका छन् । विगतका वर्षमा ईडिभी चिठ्ठा परेका केन्द्रमा हाल आवेदन दिनेको भीड लागेको दंगाल बताउँछन्। उनले एक सातामा ४ सय ७० जना भन्दा वढीको आवेदन आँफुले भरेको बताए ।
पछिल्लो समय फोटो स्टुडियो, साइबर सञ्चालकले ईडिभीको प्रचार गर्दै सशुल्क डिभीका लागि आवेदन भराइरहेका छन् । १९ असोज मा खुलेको डिभीको आवेदन २२ कात्तिक सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरु मध्येबाट प्रत्येक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिठ्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ ।
अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि बेरोजगार युवायुवतीहरु डिभी भर्ने केन्द्रहरुमा लाइन लागेका छन् ।