दशैंपछिको दोस्रो महान् चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाइन्छ । ज्योतिको पर्वका रूपमा मनाइने तिहार, दीपावली, म्हपूजा, आदि पर्वको मिश्रित रूप हो । क्षेत्रगत र जातिगत रूपमा केही भिन्न स्वरूपमा यो पर्व मनाइए पनि यसले नेपालको सांस्कृतिक विशेषतालाई नै उजागर गर्छ । तिहारको अवधिमा यमराजले आफ्नी बहिनी यमुनाकहाँ पाचदिनसम्म बसेर भाइटीका लगाएको मान्यता छ । यसरी पाँच दिनसम्म मनाइने र यमराज जोडिएका हुँदा यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
तिहार प्रकृतिसँग नजिक हुने पर्व हो । यस पर्वमा मानव जीवनसँग गाँसिएका कुकुर, काग, गाई, गोरु आदिको पूजा गरिन्छ भने गोवर्धन पर्वतको पूजा पनि गरिन्छ । द्वापर युगमा श्रीकृष्णले इन्द्रलाई छाडेर जीवनको प्रत्येक कार्यमा साथ दिने गोवर्धन पर्वतलाई पूजा गर्न लगाएको पौराणिक प्रसंगले पनि तिहार र प्रकृति तथा वातावरणको सम्बन्धलाई नै प्रतीकात्मक रूपमा देखाएको पाइन्छ । यसै पनि चाडपर्व र संस्कृति भनेका मानिसका जीवनशैलीसँग गाँसिएका पक्ष हुन् । मनिसको जीवनमा सकारात्मक ऊर्जा भरिदिने र मानिसका सम्बन्धहरूमा प्रगाढता ल्याउने हुँदा यिनको महत्त्व विशेष छ । सेलरोटी खाइनु, दसैँ जस्तै पिङ खेल्नु, मिठाइ खानु आदि यो पर्वका विशेषता हुन् । त्यसबाहेक यो पर्वमा देउसी र भैली पनि खेलिन्छ । विशेषगरी नाचगान गर्दै खेलिने देउसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो। यस क्रममा उठाइने पैसा सामाजिक सेवामा लगाउने क्रम बढ्दै गएकाले दानीहरूको मनसमेत जित्न सफल भएको देखिन्छ ।
उज्यालोको पर्वका रुपमा लिइने तिहारमा आफ्ना दिदीबहिनीसँग लगाइने टीका र गरिने दीर्घायु तथा समृद्धिको कामनाले दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउँछ । यसर्थ पनि तिहारको सामाजिक र भावनात्मक महत्व बढ्दै गएको छ । नेपाली पर्वहरू खाने, रमाउने, लगाउनेमा मात्र सीमित छैनन् । यी मेलमिलापका मञ्च पनि हुन । यस्ता पर्वलाई जमघट हुने, एकापसमा मित्रता नवीकरण गर्ने, गुम्सेको मन फुकाउने र हृदयलाई फराकिलो बनाउने अवसरका रूपमा परिणत गर्नुपर्छ । उज्यालो पर्व तिहारले सबै नेपालीजनमा सद्बुद्धिका दिओस् । शुभकामना । शुभ तिहार ।