उदयपुर (पालिका सन्देश) – कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक (चिन्तन) उदयपुर भ्रमणका क्रममा जिल्लाका स्थानीय जनप्रतिनिधिबाट भव्य स्वागत भयाे। भ्रमणका अवसरमा जिल्लाको समग्र अवस्था, विशेषगरी खानेपानी, सिँचाइ र ऊर्जा क्षेत्रका समस्याबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, बेलका नगरपालिकाकी उपमेयर जिरा राई, चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा तथा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगायतले आ आफ्ना पालिकामा देखिएका प्रमुख समस्या प्रस्तुत गरेका थिए।जनप्रतिनिधिहरूले ग्रामीण क्षेत्रमा दीर्घकालीन खानेपानी व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न पर्याप्त बजेट आवश्यक रहेको र अधुरा ऊर्जा तथा जलस्रोत आयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।
मन्त्री पाठकले प्रस्तुत समस्या र मागहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै उपलब्ध स्रोत र साधनको आधारमा आवश्यक पहल गरिने आश्वासन दिनुभयो। उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्ने योजनालाई मन्त्रालयले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





















