काठमाडौं — नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कारोबार गरेको निर्माण पक्षले जनाएको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया बटुल्दै आएको छ। कथावस्तु, संवाद, अभिनय र निर्देशनको प्रशंसा गर्दै दर्शकहरूले चलचित्रलाई निरन्तर साथ दिँदै आएका छन्।
देशभर १०० भन्दा बढी शो पाइरहेको यस चलचित्रले चौथो सातासम्म उल्लेख्य व्यापार कायम राख्नु नेपाली फिल्म उद्योगका लागि सुखद संकेतका रूपमा हेरिएको छ। प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा ‘ऊनको स्वीटर’लाई सुपरहिटको ट्याग प्रदान गरिसकेको छ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले फिल्मको लोकप्रियता थप उचाइमा पु¥याएको छ।
ओभरसिज कलेक्सन अहिलेसम्म सार्वजनिक नभए पनि विदेशमा पनि चलचित्रले सन्तोषजनक प्रदर्शन गरिरहेको निर्माण पक्षको दाबी छ।
वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्रका रूपमा स्थापित ‘ऊनको स्वीटर’ समीक्षात्मक र व्यावसायिक रूपमा दुवै हिसाबले सफल चलचित्र बन्न पुगेको छ।