काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी(२० विश्वकपका लागि क्रिकेट टोली घोषणा गरेको दिन बुधबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भावुक भएका छन्।
बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ। सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए। तर उच्च अदालतले पेसी सारेको सार्यै गर्दा आज विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन।
उनले लामो समयपछि फेसबुकमा स्टाटस लेख्दै आफू षड्यन्त्रको सिकार भएको दाबी गरेका छन्। साथै उक्त षड्यन्त्र रच्नेप्रति उनले घुमाउरो भाषामा आक्रोश पनि व्यक्त गरेका छन्। अनि सबै कुरा आफूले भगवान् भरोसामा छाडेको पनि बताएका छन्। ‘मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ। म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशिष दिउन्’, सन्दीपले अंग्रेजीमा लेखेका छन्, ‘म सबै कुरा भगवान्मा छाड्छु।
सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ।’ यसबीच उच्च अदालतले सन्दीपको पुनरावेदन सुनुवाइका लागि तीनपटक पेसी नतोकेको होइन। तर वैशाख ३ गतेको पहिलो पेसीमा उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दियो।
त्यसपछि वैशाख १० गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखियो। फेरि वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा पेसी त तोकियो तर समय अभाव भन्दै मुद्दा सुनुवाइ गरिएन।