नेपालमा सन् २०२२ को जुनदेखि यस वर्षको मार्चसम्ममा ४ हजार ३ सय ४४ अनलाइन लैंगिक हिसाका घटना दर्ता भएका छन्।
संयुक्त राष्ट्रसंघ नेपालले आयोजना गरेको ‘अनलाइन लैंगिक विकृति’ अन्तरक्रिया कार्यक्रममा एसपी पशुपतिकुमार रायले उक्त कुरा बताएका हुन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सामाजिक सञ्जाल तथा अनलाइनबाट हुने लैंगिक हिंसाबारे छलफल भएको थियो। अधिकारकर्मीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि हुने अनलाइन हिंसाबारे पनि बताएका थिए।
कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी बबिता बस्नेतले नेपालमा ८८.६ प्रतिशत महिला पत्रकार अनलाइन हिंसाबाट पीडित भएको बताइन्।
कार्यक्रममा अनलाइन हिंसा हुँदा प्रहरीसम्म कसरी पुग्ने भनेर छलफल पनि भएको थियो। अनलाइनबाट हुने हिंसालाई कसरी प्रहरीसम्म लैजाने भनेर कलाकार लुनिभा तुलाधारले ‘टेबलटक स्टोरीटेलिङ’ गरेकी थिइन्।
कार्यक्रममा सांसद, मानवअधिकार रक्षक, लैंगिक र मिडिया विज्ञ लगायतको सहभागिता थियो। प्रतिनिधिहरूले संयुक्त रूपमा नेपालको डिजिटल स्पेसमा लैंगिक समानता र महिला सशक्तीकरणप्रति प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, कार्यक्रममा बोल्दै युवा सांसद सोबिता गौतमले अनलाइनमार्फत् हुने लैंगिक हिंसाबारे संसदमा बहस गर्ने बताइन्।
भनिन्, ‘महिलाको डिजिटल संसारमा अर्थपूर्ण सहभागिता हुनुपर्छ। आइसिटीसम्बन्धी धम्कीले लैंगिक–आधारमा हिंसाले महिलालाई डिजिटल क्षेत्रमा पूर्णरूपमा सहभागी हुनबाट रोक्छ।’
कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघका कार्यबाहक आवासीय संयोजक तथा डब्लुएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का पनि सहभागी थिए। उनले नेपालमा डिजिटल शिक्षा र डिजिटल प्रविधिले कसरी गर्न सक्छ भन्ने कुरालाई अझ राम्ररी बुझ्नुपर्ने बताए।
लैंगिक हिंसाबारे लड्नको लागि लैंगिक भेदभावसम्बन्धी मापदण्डहरू परिवर्तन गर्नुपर्ने उनले बताए।
कार्यक्रममा सहभागीलाई अनलाइनमार्फत प्रश्न-उत्तर सोधिएको थियो। साथै सांकेतिक प्रस्तुति पनि भएको थियो।