बुद्धशान्ति (पालिका सन्देश) । एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा झापाको बुद्धशान्ति गाउँपालिकामा आदर्श युवा क्लबले ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप प्रतियोगिता २०८२’ गर्ने भएको छ ।
आयोजक आदर्श युवा क्लबले आज क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैशाख ६ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने जनाएको छ । प्रतियोगितामा झापाका सात वटा क्लव र इलामको एक गरी आठ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताएका छन् ।
उनका अनुसार आयोजक आदर्श युवा क्लब, धुर्वतारा स्पोटिङ क्लब, सतासी स्पोटिङ क्लब, शनिश्चरे फूटबल क्लब, न्यु स्टार फूटबल क्लब, धुलाबारी फूटबल क्लब, राजगढ फूटबल क्लब र इलामको जिर्मले फूटबल क्लबले सहभागीता जनाउने छन् । खेल तालिका भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।
स्थानीय बुद्ध आदर्श माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ७० हजार, उपविजेताले ४० हजार, ट्रफी र मेडल पाउने क्लबका निवर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिए । उनले खेल सम्पन्न गर्न करिव ९ लाख रुपैया लाग्ने अनुमान गरिएको समेत बताएका छन् ।
त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले समेत नगद पुरस्कार पाउने क्लबका उपाध्यक्ष दिपक सुब्बा थेवेले बताएका छन् । फाइनल खेलका समेत पाँचवटा शिर्षकमा विधागत पुरस्कार प्रदान गरिने उपाध्यक्ष थेवेले बताएका छन् । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन क्लबका सचिव दुर्योधन सिंह राजपुत (देव)ले गरेका थिए । उनले खेल निशुल्क हेर्न पाइने जनाउँदै खेल अवधिभर बुद्धशान्तिवासी सबैले खेलको अवलोकन गर्न अनुरोध समेत गरेका छन् ।
को हुन् लोकराज ढुङ्गाना ?
झापाको पूर्व उत्तर क्षेत्रमा अवस्थित सुन्दर नगरी बुद्धशान्ति, जसलाई खेलकुदको उर्वरभूमिको रुपमा पनि चिनिन्छ । विशेषगरि फुटबल खेलप्रतिको दर्शकको क्रेजले गर्दा बुद्धशान्ति पूर्वि नेपालको खेल जगतमा परिचित नाम हो। यहि खेल प्रेमि दर्शकको बाहुल्य रहेको बुद्धशान्तिका वडा नं १ मा वि.सं २०३५ वैशाख २४ गते बुवा राम प्रसाद ढुंगाना र आमा अम्बिकादेवी ढुंगानाको जेष्ठ सुपत्रका रुपमा जन्म लिएका ढुंगानाका १ भाइ र १ बहिनी छन्। विवाह बन्धनमा बाधिएको स्व. लोकराजको एक सन्तान छन् ।
सानै उमेर देखि खेलकुद क्षेत्रमा विशेष गरि फुटबलमा लगाब भएका लोकराजले यसै क्षेत्रलाई कर्मथलो बनाएर उत्नी बुद्धशान्ति कै प्रथम के रेफ्रि बन्न सफल भएका थिए। उनको छोटो अवधिमै सटिक निर्णय गर्न सक्ने क्षमताले उनलाई यस क्षेत्रमा अझ लोकप्रिय बनायो। फुटबल खेल दौरानम उनले गरेका निर्णय, हक्की अनि निडर स्वाभावले उत्नी हरेक फुटबल प्रेमीको मनमस्तिकमा बस्न सफल भए। उनको यही गुणले गर्दा उनी नेपाल तथा भारतका विभिन्न भागहरु दार्जिलिङ्ग, सिक्कीम, कालेबुङ जस्ता ठाँउहरुमा प्रख्यात थिए । साथीहरु माझ पनि लोकप्रिय लोकराज सामाजिक, राजनीतिक कार्यमा पनि अब्बल थिए।
आदर्श यूवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रि संघका सदस्य समेत रहेका ढुंगानाले यस क्लबको बृद्धि विकास तथा खेलाडी उत्पादन जस्ता क्षेत्रमा उल्लेखनीय योगदान दिँदै यस आदर्श युवा क्लबलाई आजको अवस्था सम्म पुऱ्याउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए । उनकै प्रेरणाले यस क्षेत्रका धेरै युवाहरुलाई प्रेरणा मिलेर उनकै पदछाप पछ्याइ रेफ्रिको भूमिकामा प्रशंसनिय कार्य गरिरहेको छन् । २०८० मंसीर १५ गतेका दिन उनको जल्पायुमै भएको निधनले आदर्श युवा क्लब परिवार, सम्पूर्ण खेलकुद क्षेत्र तथा यस बुद्धशान्ति बासीलाई स्तब्ध बत्ताएको थियो ।
उनले यस बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको अतुलनिय योगदानलाई कदर गर्दै आदर्श क्लबले उनको सम्झनामा लोकराज स्मृति च्यालेञ्ज कप गर्ने निर्णय गरेको छ ।