भरतपुर । एमसिसी खारेजीको माग गर्दै आज चितवन बन्दको आह्वान गरिएको पनि असर आंशिक परेको छ ।
बिहान साढे ६ बजे नै सवारी बन्द गराउन आएका व्यक्तिहरूलाई चितवन प्रहरीले नियन्त्रणमा लिएसँगै बन्दको प्रभाव कम परेको हो ।
एमसिसी सम्झौता नेपालको हितमा नरहेको र विरोध नभए सम्झौता पास हुने निश्चित भएपछि बन्दलगायतको कार्यक्रम गर्नुपरेको एमसिसी खारेजी अभियान संयुक्त सङ्घर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।
शैक्षिक सङ्घसंस्था, व्यापार व्यवसाय पूर्णरूपमा बन्द रहेका छन् भने सवारीसाधनहरू पर्याप्त मात्रामा सञ्चालन भइरहेका छन् ।
एमसिसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै यसको खारेजी हुनुपर्ने माग गर्दै १३ वटा राजनीतिक दलसहितले चितवन बन्दको आह्वान गरेका थिए ।
१३ वटा राजनीतिक दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणातान्त्रिक मोर्चालगायत रहेको उनको भनाइ छ ।
हालसम्म बन्द गराउन हिँडेकामध्ये भण्डाराबाट राम सेढाई र ओम डलकोटीसहित चार जना, पुल्चोकबाट घननाथ सापकोटा, अशोक शर्मा, सन्देश पौडेल, डम्मर पुरी, प्रकाश ढकाल, पोषकान्त चापागाईं, अमरबहादुर थापा, सुरेश गौतम, कृष्ण विकलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्घर्ष समितिका सचिव अजीव पौडेलले जानकारी दिए ।