काठमाडौँ । नेपालभर आइतबार साँझ ९ बजेदेखि इन्टरनेटमा समस्या देखिएको छ। अधिकांश इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीहरूको सेवा प्रभावित भएका छन्। प्रयोगकर्ताहरूले ‘स्लो ’ इन्टरनेटको समस्या भोग्नु परेको छ।
नेपाल टेलिकमका अनुसार भारतबाट आयात गरिने ब्यान्डविथमै समस्या देखिएको हो। विशेषगरी भारतीय इन्टरनेट सेवाप्रदायक एयरटेलबाट खरिद तथा आयात गरिने इन्टरनेटमा समस्या उत्पन्न भएको आशंका गरिएको छ।
नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले पनि इन्टरनेट सेवामा अवरोध आएको पुष्टि गरेको छ।
प्रयोगकर्ताहरूले सीजी, डिसहोम, सुबिसु वर्ल्डलिङ्क, भायानेटलगायतका इन्टरनेट सेवाप्रदायकहरूमा ‘स्लो’ इन्टरनेटको समस्या देखिएको गुनासो गरेका छन्।
नेपालमा यसअघि पनि यस्ता समस्या देखिँदै आएका थिए। सन् २०२४ को जुन ३ र मे २४ मा एयरटेललगायतका सेवा प्रदायकहरूको फाइबर अप्टिक्स भारतको सुनौली क्षेत्रमा काटिएपछि इन्टरनेट सेवाहरू अवरुद्ध भएका थिए।
एयरटेलले नेपाललाई ठूलो मात्रामा ब्यान्डविथ उपलब्ध गराउने भएकाले यसको नेटवर्क स्थायित्व कमजोर हुँदा नेपालकै इन्टरनेट पूर्वाधार प्रभावित हुँदै आएको छ।