झापा । माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार भोलिदेखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो ।
‘तयारी सकिएको छ । भोलि परीक्षा हुन्छ । प्रदेश र जिल्लासँग हिजो भर्चुअल बैठक पनि भयो । सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।
उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरू पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिएको छ । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ ।
बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । पहिलो दिन भोलि अंग्रेजीको परीक्षा हुनेछ ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । ‘परीक्षा सकिएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्छौं,’ उनले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’ केन्द्राध्यक्षको निगरानीमा उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ ।



















