- नवीन उप्रेती, कचनकवल
“एउटा प्रयास गरेर हेर् त, सक्छेस्।”
यो वाक्य केवल प्रेरणाको शब्द मात्र थिएन, यो नै जीवन बदल्ने टर्निङ पोन्ट बनेको थियो कचनकवल गाउँपालिका वडा नं १ की सुनिता कुमारी राजवंशीका लागि।
२०७९ सालमा कक्षा १० को एसईई परीक्षा सकेपछि, धेरै साथीहरू जस्तै पढाइमै मात्र लाग्ने योजना बनाउनुभन्दा फरक बाटो रोजिन् उनले। मोती माध्यमिक विद्यालयकी कृषि बाली विज्ञानकी विद्यार्थी सुनिताले ओजेटी तालिम लिइरहेकी थिइन्। तालिमकै क्रममा प्रशिक्षकले भनेका थिए “तिमी पनि गर, गरेपछि सक्छ्यौ।”

त्यो वाक्यले उनको मन छोयो। घरमा आमाले पनि थपिन् “एकपटक प्रयास गरी हेरन, के थाहा सफल भइहाल्छ्यौ।”
त्यही दिनदेखि सुरु भयो उनको च्याउ खेतीको यात्रा।
सुनिताको जीवन साधारण थिएन। बाल्यकालमै ठुलो घाउ खेप्नुपरेको थियो। उनका बुबा वैदेशिक रोजगारीकै क्रममा विदेशमा नै दिवंगत भए। परिवारमा आमासहित भाइबहिनी साना थिए। घरको सबै दायित्व अकस्मात् उनको काँधमा आयो।
“घर सबै जिम्मेवारी मेरै काँधमा छ। कमाउने कोही छैन। भाइबहिनीलाई पढाउनुछ, आमालाई पनि सघाउनुछ,”।
पहिलोपटक ३०० पोका राखेर सुरु गरिन्। परिणाम? लगानी मात्र उठ्यो। नाफा शून्य।
त्यतिबेला उनी कक्षा ११ पढ्दै थिइन्। पढाइ र खेतीलाई सँगसँगै अघि बढाउन ठूलो चुनौती थियो।
“वर्षमा तीनपटक लगाउन सकिने च्याउ, पढाइका कारण एकपटक मात्र लगाउन पाएँ,” उनले सम्झिन्।
दोस्रो वर्ष २५० पोका राखिन्। तर मौसमले साथ दिएन। अपेक्षित नतिजा आउन सकेन। लागत उठ्यो तर आम्दानी सीमित रह्यो। “त्यो बेला करिब ६० हजार मात्रै आम्दानी भयो,” उनले भनिन्।
तर यी असफलताले उनलाई निराश बनाएन, बरु अझै दृढ बनायो।
तेस्रो वर्षदेखि खेतीसँगै केही उपलब्धि देख्न थालिन्। अहिले चौथोपटक च्याउ खेती गर्दैछिन्। यसपटक उनले ६०० पोका राखेकी छन्।
गाउँपालिकाले जय कृषि फर्ममार्फत दिएको ७५ हजार रुपैयाँ अनुदानले उनको हौसला अझ बढाएको छ।
“अनुदान नपाए पनि विस्तार गर्ने सोचमै थिएँ, तर पाएपछि झन् आत्मविश्वास बढेको छ,” सुनिता भन्छिन्।
पहिले पराल काट्ने मेसिन नभएकाले घण्टौँ हातैले काट्नुपर्थ्यो। पराल पकाउने ड्रम पनि थिएन।
“कस्तो कष्टकर थियो त्यो बेला!” उनी सम्झिन्छिन्।
तर अहिले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको च्यापकटर (पराल काट्ने मेसिन) र आफैले किनेको ड्रमले काम सजिलो भएको छ।
उनले उत्पादन गरेको च्याउ स्थानिय बगान बजार, डाँगीबारी, बनियानी, पथरीया बजारमै खपत हुन्छ। कहिलेकाहीँ उत्पादन ४० केजीभन्दा बढी हुँदा छिमेकी पालिका बाह्रदशीको राजगढ बजारसम्म पुर्याइन्छ।
च्याउ बजार लैजाने जिम्मेवारी प्रायः आमाले सम्हाल्छिन्।
“दिनमा १५–२० केजीसम्म उत्पादन हुन्छ, कहिलेकाहीँ ४०–५० केजी पनि पुग्छ,” उनले बताइन्।
हाल च्याउको मूल्य स्थानीय बजारमा प्रतिकेजी २०० रुपैयाँ छ। एकपटक लगाउँदा उनले ८०–९० हजारसम्म आम्दानी गर्ने गरेकी छन्।
भर्खरै कक्षा १२ को परीक्षा दिएकी सुनिताले अहिले पढाइलाई थाँती राखेर खेतीमै पूर्ण समय दिएकी छिन्।
“अब अझै गर्नुपर्छ जस्तो लाग्छ,” उनी भन्छिन्।
जीवनका सपना अझै बाँकी छन्। तर अहिले प्राथमिकता परिवारको जिम्मेवारी हो आमालाई साथ दिनु, भाइबहिनीलाई पढाउनु।
सुनिता केवल च्याउ खेती गर्ने युवती मात्र होइनन्। उनी साहस, संघर्ष र आत्मनिर्भर बन्ने आँटको प्रतीक बनेकी छिन्।
अभाव र पीडाबीच पनि अघि बढ्ने उनको कथा झापामै नभई देशभरका युवतीहरूको लागि प्रेरणा हो।