काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार राति सार्वजनिक गरेको छ। यस वर्षको नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको नतिजामा १ लाख ६७ हजार ५९७ विद्यार्थी ‘नतिजा अवर्गीकृत’ (NG) भएका छन्। यो पटक यी सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएअनुसार, अनुत्तीर्ण भएका सबै विद्यार्थीहरूले साउन २९ गतेदेखि हुने मौका परीक्षामा सहभागी हुन पाउनेभएका छन्।
गत २०८० सालको एसईईमा पनि ‘एनजी’ आएका सबै विद्यार्थीहरूलाई तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्णयअनुसार मौका परीक्षाको अवसर प्रदान गरिएको थियो। सोहीअनुसार बोर्डले कानुन संशोधन गर्दै सबैलाई मौका परीक्षाको अवसर दिएको थियो। यस पटक पनि सोही प्रावधानअनुसार ‘एनजी’ आउने सबैले पूरक परीक्षा दिन पाउने अध्यक्ष शर्माले स्पष्ट पारेका छन्।
यस वर्षको एसईई चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।