काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीको नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिएकी छन् । च्यासलमा जारी केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिइन् ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसम्बन्धी विधानको प्रावधानलाई व्यक्ति विशेषलाई लक्षित गरेर हटाउन नहुने उनको धारणा छ । उनले सङ्गठनलाई सुदृढ बनाउने गरी विधान संशोधन गर्नुपर्ने बताइन् । ‘धारा ६४ कायम राखिनुपर्छ । व्यक्ति विशेषलाई हेरेर होइन, सङ्गठनलाई बलियो बनाउने गरी विधान बनाऔँ,’ तिम्सिनाले भनिन्, ‘अध्यक्ष कमरेडले दुई कार्यकाल नेतृत्व गरिसक्नुभयो । उहाँले पर्याप्त अवसर पाउनुभएको छ । अब निशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभ्यास गर्नुपर्छ ।’
पार्टी नेतृत्वले बारम्बार घेराबन्दीको कुरा उठाउँदा तिम्सिनाले आश्चर्य व्यक्त गरिन् । ‘पार्टी सधैँ घेराबन्दीमा छ भनिन्छ । सरकारमा हुँदा पनि घेराबन्दी, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ ?’ उनले प्रश्न गरिन्, ‘हाम्रो यति ठूलो सङ्गठनात्मक शक्ति हुँदा पनि घेराबन्दी तोड्न किन सकिएन ? नेतृत्वले यसको समीक्षा गर्नुपर्छ ।’