काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन्। अहिले उनले पदाधिकारी तहका नेताहरूसँग ‘वान टु वान’ छलफललाई प्राथमिकता दिएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताहरूसँग व्यक्तिगत भेटघाट गर्दै आएका छन्। गौतमले भने- ‘सबै नेताको एउटै धारणा बनाएपछि मात्र सचिवालय बैठक बसेर पार्टीको आधिकारिक निर्णय सार्वजनिक गरिनेछ ।’
दसैँअघि वा पछि पार्टी कमिटीको बैठक बस्ने भन्ने विषय अझै टुंगिएको छैन । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति नै फेरिएको छ ।
आन्दोलनपछि गैरदलीय सरकार गठन, प्रतिनिधिसभा विघटन र फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिएको छ, जसलाई प्रमुख दलहरूले असंवैधानिक ठहर गर्दै आएका छन् ।
यस्तै अवस्थामा कांग्रेस, माओवादी र रास्वपाजस्ता दलहरूले औपचारिक बैठक गरेर आफ्नो धारणा सार्वजनिक गरिसके पनि एमालेले भने अझै बैठक बोलाएको छैन।
आन्दोलनका क्रममा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि उनी हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बसिरहेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी करिब एक सातासम्म नेपाली सेनाको सुरक्षामा पनि रहेका थिए ।
एमालेभित्र अहिले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे चर्को बहस भइरहेको छ। तर अध्यक्ष ओली भने त्यसलाई स्वीकार गर्न तयार नभएको नेताहरूको बुझाइ रहेको छ। त्यसैले उनले सामूहिक बैठकभन्दा पहिला पदाधिकारीहरूसँग व्यक्तिगत छलफललाई प्राथमिकता दिएको बताइएको छ ।