कक्षा ११ मा के पढ्ने ?

गङ्गाराम गड्तौला

आदरणीय अभिभावक !
म तपाईँकै गाउँले, शुभेच्छुक र सामाजिक दायित्व बोकेको मान्छे ! मैले २५ वर्ष शिक्षण पेसामा बिताएको छु । शिक्षा, बालमनोविज्ञान र बालबालिकासम्बन्धी तालिम, कार्शाला गोष्ठी तथा परामर्श कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छु । त्यस्तै उपर्युक्त विषय सम्बध्द लेख रचना पनि प्रकाशित गर्दै आएको छु । तपाईं-हामी एउटै गाउँका बासिन्दा । एक-अर्काको दु:ख-सुख, ऐँचोपैँचो, भारापर्ममा जोडिएका छौं । कहिलेकाहीँ तपाईंको घरमा म आएर बसेको पनि हुँला । कहिले तपाईंको व्यवहारमा भरथेग पनि गरेँ होला । कहिले तपाईंले मलाई गारोसारोमा सघाउनु भो होला । यसरी तपाईं-हामीबिच एक किसिमको भावनात्मक सम्बन्ध गाँसिएको छ । यही सम्बन्धलाई आधार बनाएर म तपाईँसित तपाईंको नानीको विषयमा केही कुरा गर्दै छु ।
तपाईंको नानीले भरखरै कक्षा दसको परीक्षा (एसईई) उत्तीर्ण गरेको छ । कक्षा ११ मा धमाधम भर्ना खुलिरहेको छ । तपाईँकहाँ विभिन्न विद्यालय/कलेजबाट संस्थापक/ शिक्षकहरू आउनुभएको होला । विभिन्न विज्ञापनका सामग्री घरभरि होलान् । नानीका साथीहरूले विभिन्न कुरा गरिरहेका होलान् । तपाईंको आफ्नो इच्छा एउटा होला । नानीको अर्कै होला । अवश्य पनि यतिखेर तपाईं के गरुँ र कसो गरूँको दोधारमा हुनुहुन्छ । नानीलाई जबर्जस्ती आफ्नो कुरा लाद्न पनि सक्नुभएको छैन । उसको कुरा पनि सही हो-होइन, छुट्याउन सकिएको छैन । यस्तो बेला कसैले उचित सल्लाह दिए पनि हुन्थ्यो भन्ने लागिरहेको होला । यही विषयमा म सम्बन्धित विषयको अनुभवी भएकोले हजुरलाई केही सुझाव र परामर्श दिँदै छु :
नानीको क्षमता पहिचान गर्नुहोस्
हरेक व्यक्तिको आफ्नो अलग्गै पहिचान हुन्छ । आफ्नो रुचिको विषयमा व्यक्तिले विशेष क्षमता प्रदर्शन गर्न सक्छ । तर यतिखेर आफ्नो क्षमता पहिचान गर्नभन्दा अरुको पछि लाग्ने प्रवृत्ति बढेको छ । तपाईंको नानीले पनि साथीभाइको लहैलहैमा लागेर उसको क्षमता नभएको विषय अध्ययन गर्ने सोच बनाएको हुन सक्छ । क्षमता बाहिरको विषय पढ्नेले पढाइमा राम्रो गर्न सक्दैन । सही निर्णय गर्न सकिएन भने पछि पछुताउनुपर्ने हुन सक्छ ।
विद्यालय अवलोकन गर्नुहोस्
आफ्नो नानीको भविष्य निर्माण गर्ने थलो कस्तो छ ? सबैभन्दा पहिले भ्रमण-अवलोकन गर्नुहोस् । भवन कस्तो छ ? कक्षा कोठा मापदण्डअनुसार छन्/छैनन् ? संस्थापक/प्रिन्सिपलको योग्यता र शैक्षिक विचार कस्तो छ ? विद्यालयको शैक्षिक ईतिहास कस्तो छ ? विषय शिक्षक, पठनपाठन प्रक्रिया तथा प्रविधिको प्रयोग कसरी भइरहेको छ ? यी विषयमा सम्बन्धित ठाउँमै गएर यकिन गर्नुहोस् । तुलनात्मक रूपमा खर्च कति लाग्छ ? यो पनि बुझ्नुहोस् ।
टाढा नपठाउनुहोस्
भनिन्छ नि – नजिकको तीर्थ हेला । कस्तूरीले आफ्नो सुगन्ध नचिनेर भौँतारिएजस्तै हामी स्थानीय स्तरको शैक्षिक गुणस्तर नचिनेर यत्रतत्र भौँतारिन्छौं । एक डेढ घन्टा गाडीमा यात्रा गरेर पढ्न पठाउनु भनेको बच्चाको भविष्य निर्माणका नाउँमा उसमाथि अन्याय गर्नु हो । हामी आफैं विचार गरौं त, एक डेढ घन्टा सार्वजनिक सवारीमा यात्रा गरेपछि कति बेला आराम गरौं भन्ने ध्यान हुन्छ । अनि नानीहरूले गाडीमा गएर पढ्दा पढाइमा कति ध्यान देलान् ? वास्तवमा नानीहरूलाई सकेसम्म नजिकैको विद्यालयमा पढाउनु राम्रो हुन्छ । स्थानीय स्तरका विद्यालयमा बेलाबेलामा आफू पुग्न सकिन्छ । शिक्षक/प्रिन्सिपलसँग भेट गर्न सकिन्छ । घरको कुरा राख्न सकिन्छ ।
एक पटक सोच्नुहोस् त !
चिनेजानेको, नजिकको व्यक्तिसित आफ्नो कुरा खुलेर गर्न सकिन्छ । टाढा जाने फुर्सद नहोला । गएको बेला सम्बन्धित व्यक्ति नभेटिएला । सरसङ्गत, साथीहरू कस्ता छन् केही थाहा हुँदैन ।
अन्त्यमा, शिक्षा र स्वास्थ्य जस्ता विषयमा आफूले निर्णय गर्न पाउनु हाम्रो अधिकार हो । तर अधिकारको प्रयोग गर्दा त्यसको परिणाम के हुन्छ भन्ने विचार गर्नु जरुरी छ । जुनसुकै ठाउँ र विद्यालयमा पनि पढाउने शिक्षकको योग्यता एउटै हो । पठनपाठन शैली एउटै हो । यसैले विचार गर्नुहोस् । नानीको भविष्य निर्माणको लागि सही निर्णय गर्ने बेला आएको छ । उचित लाग्छ भने हामी सदैव परामर्श दिन तत्पर छौं । एउटा गलत निर्णयले भविष्यमा पछुतो नहोस् – मेरो सल्लाह हजुरको लागि ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *