काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघि आवश्यक प्रणाली परीक्षण (डेमो) आइतबार सम्पन्न भइसकेको छ। हिजो डेमो गरिएको थियो। आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।
शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण यसवर्ष ढिलाइ भएको हो। गत माघ २० गतेदेखि सुरु भएको आन्दोलन वैशाख १७ गतेसम्म ८९ दिन चलेपछि परीक्षा तालिका परिवर्तन गर्नुपरेको थियो।
परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। बोर्डका अनुसार देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।


















