काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी सफल भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो।
२०७९ सालको वैशाख २१ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिकतर्फ गरी कूल ५ लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए। तिनमध्ये नियमित विधाबाट परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ विद्यार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना (६१.१७%) सफल भएका छन्।
त्यस्तै, आंशिकतर्फ सहभागी १ लाख १४ हजार ६४० विद्यार्थीमध्ये ४१ हजार ८४० जना (३६.४९%) मात्रै पास भएका छन्।
गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजा सुधार
बोर्डका अनुसार गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, भने यसपटक उक्त प्रतिशतमा ९ अंकले सुधार आएको छ। नतिजा सकारात्मक देखिए पनि शिक्षाका गुणस्तर र व्यावहारिकतामा भने प्रश्नहरू उब्जिएका छन्।
विद्यार्थी अझै पनि अंग्रेजीमै कमजोर
यसपटक पनि अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डका तथ्याङ्कअनुसार अंग्रेजीमा ६६ हजारभन्दा बढी विद्यार्थी नन्ग्रेडेड (अनुत्तीर्ण) भएका छन्। त्यसपछि अकाउन्ट (४१ हजार ३६३) र सामाजिक अध्ययन (३३ हजार ९२१) मा पनि उल्लेख्य संख्यामा विद्यार्थी असफल भएका छन्। अनिवार्य नेपालीमा पनि २८ हजार ३५६ विद्यार्थी नन्ग्रेडेड छन्।
उच्च जिपिए ल्याउने विद्यार्थी संख्या
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थी संख्या १३ हजार ५०२ रहेको छ। यस्तै, जिपिए ३.२१ देखि ३.६० ल्याउने ५५ हजार ८९६ र जिपिए २.८१ देखि ३.२० ल्याउने ९४ हजार २६८ जना छन्।
त्यस्तै, जिपिए २.४१ देखि २.८० ल्याउने ६९ हजार ८१२, जिपिए २.०१ देखि २.४० ल्याउने ८ हजार ९६४ र जिपिए १.६१ देखि २.०० ल्याउने विद्यार्थी २३ जना रहेका छन्।
नतिजा सुध्रिनुमा विभिन्न पक्षको योगदान
बोर्ड अध्यक्ष महाश्रम शर्माले नतिजा सुधार हुनुमा स्थानीय तह, विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी सबैको भूमिका महत्वपूर्ण रहेको बताए। उनका अनुसार परीक्षा पद्धतिमा केही परिवर्तन, शिक्षकहरूको तालिम, र विद्यार्थीलाई अभ्यास गराउने प्रवृत्तिले सकारात्मक असर पारेको हो।
‘०७८ देखि लागू गरिएको नयाँ पाठ्यक्रम तथा प्रश्नपत्रको मोडालिटीमा विद्यार्थी क्रमशः अभ्यस्त हुँदै गएका छन्,’ शर्माले भने, ‘प्रश्नपत्र निर्माणमा समेत व्यापक सुधार गरिएको छ।’
शिक्षाविद्को चिन्ता : अंक राम्रो आए पनि गुणस्तरमा प्रश्न
शिक्षाविद् डा. विद्यानाथ कोइरालाका अनुसार परीक्षाफलमा अंकको हिसाबले सुधार देखिए पनि शिक्षाको गुणस्तर र व्यावहारिक पक्ष अझै कमजोर छन्। ‘नतिजा मात्रै राम्रो हुनु पर्याप्त होइन,’ उनले भने, ‘हाम्रो परीक्षा प्रणाली अझै पनि सीपमूलक र व्यवहारिक छैन।’
उनका अनुसार अधिकांश विद्यार्थीले उत्तीर्ण भए तापनि सबै विषयमा राम्रो अंक ल्याउन सकेका छैनन्, र विदेशमा उच्च शिक्षा लिने क्रममा समस्याहरू देखा पर्ने गरेको छ।
विदेश जाने प्रवृत्तिले विश्वविद्यालयहरूमा असर
कक्षा १२ पास गरेपछि ठूलो संख्यामा विद्यार्थी विदेशिने प्रवृत्तिले नेपाली विश्वविद्यालयहरूमा असर परेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा बोर्ड र एनओसीको तथ्यांकअनुसार, कक्षा १२ पास गरेका आधाभन्दा बढी विद्यार्थी नेपालमै उच्च शिक्षा अध्ययन नगर्ने गरेका छन्।
यसले गर्दा विश्वविद्यालयका कार्यक्रमहरूमा विद्यार्थीको संख्या नपुग्ने अवस्था सिर्जना हुने गरेको छ।
प्रदेशअनुसार नन्ग्रेडेड विद्यार्थीको अवस्था
- कोशी प्रदेश : १२,३७४ छात्रा र १२,६०४ छात्र अनुत्तीर्ण
- गण्डकी प्रदेश : ४,८०० छात्रा र ५,३०३ छात्र
- मधेश प्रदेश : ११,७७२ छात्रा र ११,५५९ छात्र
- लुम्बिनी प्रदेश : १४,९०२ छात्रा र १४,४२० छात्र
- बागमती प्रदेश : १६,७५८ छात्रा र २०,१०७ छात्र
- कर्णाली प्रदेश : ६,६१० छात्रा र ६,०७९ छात्र
- सुदूरपश्चिम प्रदेश : ९,१४९ छात्रा र ७,४५८ छात्र अनुत्तीर्ण
उच्च जिपिए ल्याउने प्रदेशगत स्थिति
- बागमती : ८,६८५ जना
- लुम्बिनी : १,५४३ जना
- कोशी : १,३९९ जना
- गण्डकी : १,१५१ जना
- मधेश : ४०३ जना
- सुदूरपश्चिम : २५१ जना
- कर्णाली : ७० जना