कचनकवल – कचनकवल गाउँपालिकाले संघीय सरकारबाट विशेष र समपूरक अनुदानमार्फत दुई महत्वपूर्ण पूर्वाधार विकास योजना स्वीकृत गराएको छ। संघीय सरकारको वित्तीय हस्तान्तरणपछि अब यी योजनाहरू छिट्टै कार्यान्वयनमा आउने भएका छन्।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, बनियानी बजार स्तरोन्नति योजनाअन्तर्गत स्वीकृत पाँच करोड रुपैयाँ बजेटमध्ये हाल विशेष अनुदानमार्फत ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस योजनाले बनियानी बजारलाई व्यवस्थित र आधुनिक स्वरूप दिन सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, टावरगाउँ–कल्याणगञ्ज–पश्चिम भेलामुनी–कुटी सडक खण्ड कालोपत्रे गर्ने योजनाअन्तर्गत स्वीकृत तीन करोड रुपैयाँ बजेटमध्ये ८१ लाख रुपैयाँ समपूरक अनुदानमार्फत विनियोजन गरिएको छ। यस सडक निर्माणले किसानका उत्पादन बजारसम्म लैजान सहज हुने विश्वास स्थानीय तहले व्यक्त गरेको छ।
यी योजनाहरू स्वीकृत गराउन गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष भट्टराईले संघीय सरकारसँग पटक–पटक पहल गरेका थिए। “हाम्रो टिमको काठमाडौँ दौडधुपले आज साकार रुप लिएको छ,” उपाध्यक्ष भट्टराईले बताए। उनले थपे, “विकास निरन्तर अगाडि बढ्दै छ, हामी सबैलाई बधाई छ।”
पालिका अध्यक्ष राजवंशीले आफ्नो नेतृत्वमा रहेको स्थानीय सरकारले कचनकवलको नयाँ स्वरूप निर्माणमा कटिबद्ध रहेको बताए। “सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा मोडालिटी तयार गरी योजनाबद्धरूपमा कार्य गरिरहेका छौं,” अध्यक्ष राजवंशीको भनाइ छ।
कचनकवल पूर्ण रूपमा कृषि प्रधान क्षेत्र हो। तर, सडक पूर्वाधार र बजार संरचना जिर्ण तथा अव्यवस्थित रहेकोले उत्पादनको सहज बजार पहुँचमा समस्या रहेको अध्यक्ष राजवंशीको भनाइ छ। “त्यसैले हामी बजार र सडक पूर्वाधारको स्तरोन्नतिमा प्राथमिकता दिइरहेका छौं,” उनले भने।
बगान नयाँ बजार र घेराबारी बजारलाई नयाँ स्वरूप दिइएको उल्लेख गर्दै उनले बनियानी बजारको निर्माण कार्यसमेत प्रगतिको चरणमा रहेको जानकारी दिए। “अबको दुई वर्षमा कचनकवल विकासको दोस्रो चरणमा प्रवेश गर्नेछ,” अध्यक्ष राजवंशीले विश्वास व्यक्त गरे।