बनियानी — कचनकवल गाउँपालिकाले अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरे पनि यो निर्णय निजी विद्यालयहरूसँग समन्वयबिना गरिएको गुनासो देखिएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधवार जारी गरेको सूचनामार्फत पालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर निजी विद्यालय सञ्चालकहरूका अनुसार निर्णय एकाएक लिइएको र यसबारे पूर्व समन्वय नगरिएको हो।
स्थानीय एक निजी विद्यालय सञ्चालकले भने, “हामीसँग कुनै औपचारिक समन्वय नगरिकन सूचना जारी गरिएको हो। हामीले केही दिनअघि नै अत्यधिक गर्मीको कारण विद्यालय बन्द गरिसकेका थियौं। पटक–पटक बिदा दिन सम्भव नहुने भएकाले हामीले विद्यालय सञ्चालन गर्नुपरेको हो।”
कतिपय निजी विद्यालयहरूले बिदाको पालिकाको निर्णयलाई सम्मान गर्दै विद्यालय बन्द गरे पनि, अन्य केहीले शैक्षिक सत्रमा बारम्बार अवरोध आउन सक्ने भन्दै कक्षा सञ्चालन गरेका छन्।
पालिकाले भने तत्कालीन आवश्यकताको कारण तत्काल निर्णय लिनु परेको दाबी गरेको छ। शिक्षा शाखाकाकी प्रमुख मनिता बरालका अनुसार “हामीले विभिन्न विद्यालय र अभिभावकबाट मौखिक तथा लिखित अनुरोध पाएका थियौं। समयाभावका कारण सबै सरोकारवालासँग समन्वय गर्न सकिएन।
यस्तो छ बुधबार गाउँपालिकाले जारी गरेको गर्मी विदाको निर्णय
