कचनकवल।
नेपाली कांग्रेस कोशी प्रदेशले नेपालको सबैभन्दा होचो स्थान कचनकवलबाट सगरमाथा जागरण अभियान सुरु गरेको छ। “संगठन सुदृढीकरण, ऐतिहासिक खोज, र समृद्धिको आधार” भन्ने मूलनारासहित सुरु गरिएको यो अभियानबारे कोशी प्रदेश संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले जानकारी दिनुभयो।

थापाले २०८१ असार २० गते सगरमाथाको फेदी सोलुखुम्बुमा पुगेर कार्यक्रमको समापन गरिने बताउनुभयो। सात महिनासम्म सञ्चालन हुने यो अभियानले जलवायु परिवर्तनका प्रभाव र पहिचान सम्बन्धी विषयमा आवाज उठाउने उद्देश्य राखेको छ। १४ जिल्लामा अभियान सम्पन्न भएपछि जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी प्रतिवेदन पार्टीलाई बुझाइने उहाँले बताउनुभयो।
थापाले जागरण अभियानको औचित्यबारे प्रकाश पार्दै पार्टी एकता सुदृढ गर्ने र जनताको समस्या सुन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

कार्यक्रमको स्वागत कोशी प्रदेशका भौतिक पूर्वाधार तथा राज्यमन्त्री भूमिप्रसाद राजवंशीले गर्नुभएको थियो। प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनताको दुःख र समस्या सुन्नका लागि सञ्चालन गरिएको बताउनुभयो।
केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार कार्कीले कार्यक्रमको सफलताको शुभकामना दिँदै पार्टीलाई सम्पदासँग जोड्नुपर्ने धारणा राख्नुभयो। उहाँले पार्टीलाई एकता र समृद्धिसँग जोड्न जागरण अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
केन्द्रीय सदस्य कृष्ण सिटौला, महामन्त्री शर्मा, तथा १४ जिल्लाका सभापतिहरुले एकताको प्रतीकका रूपमा सामूहिक रूपमा परेवा उडाएर कार्यक्रमको उद्घाटन गर्नुभयो।