कचनकवल। कचनकवल गाउँपालिकामा रेबिज संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सोमबार द्रुत प्रतिकार्य समितिको आकस्मिक बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष तथा द्रुत प्रतिकार्य समितिका संयोजक कालेन्द्र प्रसाद सिंह राजवंशीको अध्यक्षतामा प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा बैठक बसेको हो।
गत केही दिनदेखि कचनकवल–६ अन्तर्गतको बनियानी बजार क्षेत्रमा उन्मत्त कुकुरले आतंक मच्चाउँदै १२ जना सर्वसाधारण र केही पशुचौपायालाई टोक्दा स्थिति गम्भीर बनेको छ। कुकुर अझै नियन्त्रणमा आउन नसकेको र यसले थप क्षति पुर्याउन सक्ने जनस्वास्थ्य विशेषज्ञहरूको आकलन छ।
उक्त जोखिमपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिएर गाउँपालिका अध्यक्ष राजवंशीको विशेष पहलमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राई तथा मन्त्रालयका सचिव डा. राधिका थपलियासँग समन्वय गरिएको छ। हाल प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा रेबिजविरुद्धको खोप अभाव रहेको र उपलब्ध कोटा समेत समाप्त भएकाले तत्कालका लागि २०० डोज (करिब ६६ जनालाई पुग्ने) रेबिज खोप प्रदेश स्वास्थ्य सामग्री आपूर्ति केन्द्र, विराटनगरमा माग गरिएको गाउँपालिकाले जनाएको छ।
बैठकमा उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, योजना अधिकृत केशव मैनाली, मेडिकल अफिसर डा. दिपेन राजवंशी, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रोमसाम राजवंशी, जनसम्पर्क अधिकृत नवीन मिश्र, स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव, जनस्वास्थ्य निरीक्षक महेशचन्द्र नेपाल तथा पशु विकास शाखाका अधिकृत मशिन्द्र यादवको उपस्थिति थियो।
गाउँपालिकाले रेबिज संक्रमणलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्ने र जनस्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सम्पूर्ण उपायहरू अवलम्बन गरिने स्पष्ट पारेको छ।