कचनकवल। कचनकवल गाउँपालिकामा संघीय र प्रदेश सरकारको साझेदारीमा भइरहेको सडक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुने गरी विभिन्न स्थानमा कालोपत्रे (अस्फाल्ट) सडक निर्माणको काम अगाडि बढाइएको छ।

गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार संघीय सरकारको समपुरक कोष (साझेदारी) मार्फत नेत्र शाखा–दल्कि घेराबारी सडकको टावरटोलदेखि पश्चिम भेलामुनी कुटिसम्मको करिब १६०० मिटर सडक कालोपत्रे गरिनेछ। यससँगै एकवटा बक्स कल्भर्ट पनि निर्माण गरिनेछ। उक्त योजनाको लागत अनुमानित रूपमा २ करोड रुपैयाँ रहेको छ।
त्यसैगरी, प्रदेश समपुरक कोषअन्तर्गत गाउँपालिकाको साझेदारीमा सञ्चालित केदार राजवंशीको घरदेखि उत्तर जमुना पुल, मोति मावि–दल्कि सडक योजनामा ४ किलोमिटर ७५० मिटरमध्ये बाँकी १,०५० मिटर सडक कालोपत्रे गर्न १ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।
हाल सडक सर्भे सम्पन्न भइसकेको र लागत अनुमान तयारीको चरणमा रहेको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो। चाँडै नै बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया सुरु गरिनेछ।
यी सडक योजनाहरुले बिर्तामोड जोड्ने मुख्य मार्गसँग आवद्धता बढाउनुका साथै गाउँपालिकाभित्रको सडक सञ्जाललाई बलियो, भरपर्दो र दिगो बनाउने लक्ष रहेको उपाध्यक्ष भट्टराईले बताए।