बनियानी। कचनकवलमा दुई दिने प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ।
कचनकवल २ स्थित सकुनाडिगी सामुदायिक भवनमा वैशाख १७ र १८ गते सञ्चालन भएको हो। एसएनजेडी (SNJD) को आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिमले स्थानीय तहका प्रतिनिधिहरू र समुदायस्तरका सहभागीहरूलाई प्रस्ताव लेखन सम्बन्धी आधारभूत सीप र ज्ञान प्रदान गरेको थियो।
तालिममा कचनकवल गाउँपालिकाका विभिन्न वडाबाट करिब २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले परियोजना अवधारणा विकास, समस्या पहिचान, लक्ष्य निर्धारण, क्रियाकलापको स्पष्ट व्याख्या, बजेट निर्माण र प्रस्ताव पेश गर्ने तरिकाका विषयमा व्यावहारिक अभ्याससहित सिकेका थिए।
तालिममा बुधबारे जेसीज २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपूत (देव)ले सहजीकरण गर्दै सहभागीहरूलाई अनुभव आधारित अभ्यास गराएका थिए। तालिमलाई सहभागीमैत्री बनाउने उद्देश्यले समूहगत छलफल, प्रस्तुति, र प्रतिक्रिया सत्रसमेत सञ्चालन गरिएको थियो।
एसएनजेडीका कार्यक्रम अधिकृत सुरज दंगालका अनुसार, “स्थानीय तहमा कार्यरत वा क्रियाशील व्यक्तिहरूले आफैं प्रभावकारी प्रस्ताव तयार गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। यसले उनीहरूलाई विकास परियोजना तयार पार्न र दातृ निकायसँग समन्वय गर्न सक्षम बनाउनेछ।”
समापन समारोहमा सहभागीहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए र यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गरिनुपर्ने आवश्यकता औंल्याएका थिए।