झापा। कचनकवल गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८०/८१मा दर्ता गरिएका १३० उजुरीमध्ये ८१ प्रतिशत उजुरीको फर्छ्यौट गरेको जनाएको छ।
कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको संयोजकत्व तथा सदस्य द्वय कचनकवल वडा नं ७ का वडाध्यक्ष भरत राजवंशी र वडा नं ६ की वडा सदस्य बबिता काफ्लेको सदस्यतामा समिती गठन गरिको हो।
न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, समितिमा दर्ता भएका १३० उजुरी मध्ये १०६ उजुरी समाधान गरिसकेको छ भने बाँकी २४ उजुरीलाई अझै कारबाही प्रक्रियामा राखिएको छ।
भट्टराईका अनुसार, दर्ता गरिएका उजुरीहरूमा मुख्यतया जग्गा र सीमाना विवाद, कुटपिट, बाटो अधिकार, पति-पत्नी सम्बन्ध, लेनदेन, र ज्याला मजदुरीसँग सम्बन्धित विवादहरू रहेका छन्। उनले थपे, “समितिले यस वर्ष धेरैजसो विवादहरूलाई मेलमिलाप केन्द्रमार्फत समाधान गरेको छ, जसले विवाद समाधानमा कम खर्च र समय खर्च गर्न सफल बनाएको छ।”
गाउँपालिकाका सातै वडामा मेलमिलाप केन्द्रहरू स्थापना गरिएको छ, जहाँ ३७ जना मेलमिलापकर्ताले सक्रिय रूपमा भाग लिएका छन्। मेलमिलाप केन्द्रमा ३८ वटा विवादहरू सफलतापूर्वक समाधान गरिएको छ। मेलमिलाप प्रक्रियाले दुवै पक्षलाई सन्तुष्ट पार्ने ‘जित-जित’ स्थिति सिर्जना गरेको छ, जसले विवाद समाधानमा सहयोग पुर्याएको भट्टराईले बताए।
उजुरी प्रशासक सरला लुँटेलका अनुसार दर्ता गरिएका कुल १३० उजुरीमध्ये मेलमिलाप भएका उजुरीको संख्या ६० रहेको छ। मेलमिलाप हुन नसकी सम्बन्धित निकायमा पठाइएको संख्या २८, उजुरी फिर्ता भएका २, र ढिसमिस गरिएका उजुरीको संख्या १५ रहेको जानकारी दिइन्। यसैगरी, कुल १०६ उजुरी फर्छ्यौट गरिएको र २४ उजुरी अझै कारबाहीको प्रक्रियामा रहेको बताइन्।
समितिले आगामी आर्थिक वर्षका लागि पालिकास्तरीय मेलमिलाप केन्द्रको निर्माण, विद्यालय स्तरमा कानुनसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूको आयोजना, र गाउँ समाजमा दबिएको घरेलु हिंसा र दाइजो प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रमहरूको योजना बनाएको छ।
साथै, मेलमिलाप केन्द्र र मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्न तथा छिमेकी पालिकासँग असल अभ्यासहरूको आदानप्रदान गर्न समर्पित योजना पनि बनाइएको छ।